काठमाडौं, फागुन ४ । ललितपुरको बालकुमारीमा २ जना निर्दाेष युवाको ज्यान लिने गरी भएको घटनाको मुख्य जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला देखिनुभएको छ ।
पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले बालकुमारी घटनाको मुख्य जिम्मेवार यातायात मन्त्री ज्वाला भएको ठहर गरेको हो । ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको तथ्य पनि जाँचबुझ आयोगले देखाएको छ ।
‘घटनाको मुख्य जिम्मेवार नै मन्त्री भएको प्रतिवेदनले निष्कर्ष निकालेको छ । उहाँकै कारणले यति ठूलो दुर्घटना भएको तथ्य जाँचबुझबाट खुलेको छ,’ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रवार प्रतिवेदन बुझाएपछि आयोगका एक सदस्यले जनताटाइम्स डटकमसँग भने । ती सदस्यका अनुसार ज्वालाको भूमिका बालकुमारीको घटनामा मुख्य देखिएको हो ।
गत पुस १३ गते ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप हुँदा दैलेख र अछामका दुई होनाहार युवाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो ।
सो घटनाको मुख्य कारण नै मन्त्री ज्वाला रहेको तथ्य जाँचबुझ आयोगले फेला पारेको छ । बालकुमारी घटनामा कमजोरी भएको निष्कर्षका साथ सरकारले ललितपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाह र प्रजिअ रुद्रप्रसाद पण्डितलाई जिम्मेवारीबाट हटाएको थियो । यसैगरी प्रदर्शनस्थलमा खटिएका स्पट कमान्डर डीएसपी उमेश लम्साललाई पनि निलम्बन गरिएको छ ।
प्रदर्शनमा मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी भएको थियो । त्यसमा मन्त्री ज्वाला र उहाँका पीएसओको लापरबाही देखिएको आयोगको निश्कर्ष छ । प्रदर्शन भएकै स्थलबाट ज्वालाको गाडी लापरबाही ढंगले लगिएको र सो क्रममा गाडीबाट झरेर ज्वाला आफैले विवाद समेत गरी उत्तेजित बनाउने काम गरेको आयोगले निश्कर्ष निकालेको हो । घटनाको छानबिनका क्रममा आयोगले मन्त्री ज्वालासहित सम्बन्धित सबैसँग बयान लिएको थियो ।
आयोगमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहनुभएको थियो । जाँचबुझ आयोगलाई घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरणको अध्ययन र विश्लेषण गर्ने, उक्त घटनाका कारण र सो स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने, उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिका सम्बन्धमा अध्ययन गरी दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा त्यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटिएको प्रतिवेदन तयार पारी पेस गर्ने कार्यादेश तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्