जनता टाइम्स

५ फाल्गुन २०८०, शनिबार १०:३३

यौन दुर्ब्यवहारको आरोप लगाउने शर्मिलाविरुद्ध नै अदालत पुगे इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल


काठमाडौं, फागुन ५ । चर्चित लोक दोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले यौन दुर्ब्यवहारको आरोप लगाउने महिलाबिरुद्ध नै अदालत पुग्नुभएको छ । कँडेलले आफ्नो मानहानी भएको भन्दै आरोप लगाउने कलाकार शर्मिला श्रेष्ठबिरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गर्नुभएको हो ।

केही समयदेखि कँडेल र श्रेष्ठबीच केही दिनदेखि सामाजिक सञ्जालमा चर्किएको विवाद अदालत पुगेको हो । इन्द्रेणीबाट निकालिएको भनिएका शर्मिलासहितका कलाकारहरुले लगाएको आरोपको शुक्रवार अपराह्न पत्रकार सम्मेलन गरी खण्डन गर्नुभएका कँडेलले उनीहरुबिरुद्ध अदालतमा मुद्दा दर्ता गराएसँगै विवाद अदालत पुगेको हो ।

शर्मिलासहितलाई प्रतिवादी बनाएर कँडेलले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गराउनु भएको छ ।पहिले इन्द्रेणीमै काम गर्ने छ जना कलाकारहरुले पहिले फेसबुक लाइभमा र लगत्तै पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको बताउनु भएकोथियो ।

शर्मिलाले आफू तीन वर्षदेखि ’यौन दर्ब्यवहार’ को शिकार भएको आरोप कँडेलमाथि लगाउनुभएको छ । तर, कँडेलले भने त्यस्ता आरोप निराधार रहेको दाबी गर्नुभएको छ । कँडेलले श्रम शोषण नगरेको र इन्द्रेणीको रकम हिनामिना नभएको जिकिर पनि गर्नुभएको छ । तीन वर्षअघि ’ह्यारेस्मेन्ट गरेको भए अहिलेसम्म किन नबोलेको ? भन्दै कँडेलले उल्टै प्रश्न गर्नुभएको छ ।

‘शर्मिला बहिनीले ममाथि तीन वर्ष अगाडि हेरेस्मेन्ट गरेको आरोप लगाउनु भएको छ । त्यस्तो हो भने यो तीन वर्ष के हेरेर बस्नु भयो ?’, कँडेलको प्रश्न छ ।