जनता टाइम्स

७ फाल्गुन २०८०, सोमबार १३:१५

दुवइमा एक नेपाली युवालाई मृत्यूदण्डको सजाय


दुबई, फागुन ७ । युनाइटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको स्थानीय समाचार एजेन्सीहरुले जनाएका छन ।

विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको हो । दुवइमा कार्यरत नेपाली घनश्याम थापा मगरले श्रेष्ठलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको जानकारी पाएको बताउनु भयो ।

आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदा बाटोमा मृत्यु भएको थियो । मृत्युदण्डका सजाय सुनाइएका श्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको थियो । त्यसपछि श्रेष्ठले नै अस्पताल लैजाँदै थिए । तर, बाटैमा मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको थियो ।

श्रेष्ठका दाजु दिनेशले सो घटनामा उनी निर्दोष रहेको बताउनु भयो । ‘त्यहाँ साथी साथीबीच झगडा भएको रहेछ, त्यो देखेपछि मेरो भाइ छुट्याउन गएका रहेछन्, तर आले मगरको मृत्यु भएपछि फिंगरिङ गर्दा मेरो भाइलाई फसाइयो,’ उहाँले भन्नुभयो । भाइ जेल परेको ५ वर्ष भइसकेको र अहिले मृत्युदण्ड कुरिरहेको दाइ दिनेशकुमारले बताउनु भयो । उहाँका अनुसार अहिले पीडित परिवारले ५० लाख रुपैयाँ ब्लडमनीबापत मागिरहेको छ । सो पैसा दिनसके ज्यान जोगिने अन्यथा मृत्युदण्ड दिन लगाउने भनेको बताउनु भयो ।

आफूले कन्सुलर विभाग पुगेर भाइ दोषी नरहेको भन्दै फैसलाको पुनरावेदनका लागि पहल गरिदिनसमेत अनुरोध गर्दै निवेदन दिएको दिनेशले बताउनु भयो । भाइको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उहाँको गुनासो छ ।

अहिले आफन्त, नातागोता र देश–विदेशमा रहने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई भाइलाई मृत्युदण्डबाट जोगाउन ब्लडमनी संकलन कार्य थालिएको उहाँले बताउनु भयो । स्थानीय समाचार एजेन्सीहरुका अनुसार श्रेष्ठले ब्लडमनीबापतको पैसा नबुझाए अबको केही महिनामै मृत्युदण्डको सजाय कार्यान्वयन हुनेछ ।