गुल्मी, फागुन ११ । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकामा अतिथि सत्कार शीर्षकमा रकम निकासा गरी दुरुपयोग भएको तथ्य बाहिरिएको छ ।
अतिथि सत्कार शीर्षकमा रकम निकासा गरी जनप्रतिनिधिले नै दाल, चामल, तेल, चिनी खरिद गरेर घुमाउरो बाटोबाट निजि प्रयोजनका लागि घरमा लगेको तथ्य फेला परेको हो । कालीगण्डकी गाउँपालिकाको केन्द्र पूर्तिघाट बजारमा रहेको देउराली किराना तथा फलफुल पसलबाट ९८ हजार ६ सय रुपैयाँको खाद्यान्न खरिद भएको छ ।
दैनिक उपभोग्य बस्तु दाल, चिनी चामल तेल आर्थिक वर्ष २०७९/८० मा अतिथि सत्कार शीर्षकमा लेखा शाखामा बिल भरपाई निवेदन तथा कागजी प्रक्रिया पूरा गरी रकम निकासा गरिएको हो । लेखा शाखाको बिवरण अनुसार ०७९ साउन १५ गते देखि कात्तिक २५ गतेसम्म चामल चिनी, दाल, नुन, पानी गरी ९८ हजार ६ सय मूल्य बराबरको खाद्यान्न कालीगण्डकी गाउँपालिकाको नाममा देउराली किराना तथा फलफुल पसलबाट पालिकामा बिल पेश गरिएको जनताटाइम्स डटकमलाई प्राप्त कागजातमा देखिएको छ ।
०७९ साउन १५ गते १९ हजार ५ सय मूल्यको १० बोरा सावा चामल, ०७९ साउन २५ गते १९ हजार ८ सय मूल्यको मसुरोको दाल ७५ केजी १ बोरा, नुन, १ बोरा चिनी, दुई कार्टुन तेल मिति नखुलेको एक बिलमा १० बोरा चामल १९ हजार ६०० मूल्य रहेको छ । ०७९ असोज २५ मा १९ हजार ८४० मूल्यको पाँच बोरा चामल चार कार्टुन तेल सात प्याक पानी, ०७९ कात्तिक १९ गते १९ हजार ८ सय ६० रुपैयाँ मूल्यको आठ बोरा चामल एक बोरा नुन, तीन कार्टुन पानी गरि ९८ हजार ६०० मूल्य बराबरको खाद्यान्न कालीगण्डकी गाउँपालिकाको नाममा देउराली किराना तथा फलफुल पसलबाट पालिकामा पेस गरिएको हो । उक्त बिल अनुसारको रकम कालीगण्डकी गाउँपालिकाले भुक्तानी गरिसकेको छ ।
०८० बैशाख २७ गते देउराली किराना तथा फलफुल पसलले बिल अनुसारको रकम भुक्तानीका लागि कालीगण्डकी गाउँकार्यपालिकाको कार्यालय पूर्तिघाटमा निवेदन दिएको देखिन्छ । उक्त निबेदनमा उपाध्यक्षले निजि प्रयोजन एंव अतिथि सत्कारमा लगेको हुँदा भोलि कुनै समस्या परेमा कानुन बमोजिम सहुँला बुझाउँला भनी लेखिएको छ । उपाध्यक्ष मन्जु कुमारी दर्लामीको दवावमा लेखा शाखाले भुक्तानीको लागि कागजी प्रक्रिया पुरा गरी रकम निकासाको लागि सिफारिस गरी भुक्तानी गरिएको खुलासा भएको हो ।
खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री अतिथि सत्कार शीर्षक बिपत तथा बाढी पहिरो पिडितको नाममा दुरुपयोग भएको विषयमा कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले छानबिन समिति गठन गरिएको बताउनु भयो । कार्यालय प्रशासकीय अधिकृत नरेस गिरीले भने आफ्नो कार्यकालमा रकम निकासा नगरिएको दावी गर्नुभयो । गिरीले पूर्व प्रशासकीय अधिकृत बाबुराम पल्लीको कार्यकालमा निकासा गरिएकाले यस विषयमा आफू अनबिज्ञ रहेको बताउनु भएको छ ।
अहिले बाबुराम पल्लीको कालीगण्डकी गाउँकार्यपालिका कार्यालयबाट सरुवा भइसकेको छ । उपाध्यक्ष मन्जुकुमारी दर्लामी मगरले खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री खरिदसंगै रकम निकासाको विषयमा पूर्व जनप्रतिनिधिले जे पनि गर्न हुने हामीले गर्न नहुने भन्दै गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिनुभयो । उहाँले छानबिन समिति गठन गरिएको बिषयमा आफूलाई जानकारी नभएको बताउनु भयो ।
खाद्य सामाग्री निजी प्रयोजनका लागि प्रयोग नगरेको बिपत ब्यवस्थापन, बाढी, पहिरो, पीडितलाई वितरण गरेको बताएता पनि वितरण कार्यमा गाउँपालिकाका मुख्य राजनैतिक दल नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, सहभागी नभएको एमाले कालिगण्डकी गाउँकमिटी अध्यक्ष रामजी ढकाल र राष्ट्रिय जनमोर्चा गाउँ कमिटी अध्यक्ष सूर्य क्षेत्रीले बताउनु भयो ।
नेपाली काँग्रेस गाउँकार्य समितिका सभापति निम श्रीषलाई यस बिषयमा पटक पटक जानकारी लिने प्रयास गर्दा सम्पर्क हुन सकेन । गाउँकार्य समितीका उपसभापति असोक ठकुरीले यस विषयमा जानकारी नरहेको बताउनु भयो । नेकपा माओबादी केन्द्र गाउँ कमिटी अध्यक्ष लिल बहादुर केसी सन्जयले पनि सो बिषयमा अनबिज्ञ रहनुका साथै बिपत ब्यवस्थापन समय परिस्थिति अनुसार जनप्रतिनिधिले सर्ब दलीय संयन्त्र बिना राहत वितरण गर्न सकिने बताउनु भयो ।
कालिगण्डकीमा आर्थिक वर्ष ०७९/०८० मा विपत व्यवस्थापन शीर्षकमा स्थानीय सरकारले ३० लाख रकम विनियोजन गरेको थियो । विपत ब्यवस्थापन शीर्षकमा भुक्तानी हुनु पर्ने रकम चोर बाटोबाट निजि प्रयोजनका साथै अतिथी सत्कार शीर्षकमा रकम निकासा गरिएको पाइएको हो । अतिथी सत्कार, चियापान, लगायत अन्य विभिन्न परियोजनाका बिबिध कार्यक्रम कालीगण्डकी गाउँकार्यपालिकाले पूर्तिघाट बजारमा रहेको फुडल्याण्डमा गर्ने गरेको छ । जनताटाइम्स डटकमलाई प्राप्त कागजातअनुसार स्थानीय सरकारले मेस संचालन गरि अतिथी सत्कार गरे जस्तो सामान खरिदमा देखिन्छ ।
पछिल्लो समयमा कालीगण्डकीमा जनप्रतिनिधिहरु यस्तै नितिगत भ्रष्टाचारका कार्यमा संलग्न हुनाले जनता माझ विश्वास गुमाउँदै गएका छन् । यस विषयलाई बाहिर नल्याई गुपचाप पार्नका लागि कालीगण्डकी कार्यपालिकामा सर्वदलीय सहमति गर्ने दौडधुप तथा योजना रहेको विशेष श्रोतले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्