उदयपुर, फागुन १२ । उदयपुरको समृद्धिका लागि पर्यटन महत्वपूर्ण आधार रहेको निश्कर्ष निकालिएको छ । प्रेस चौतारी उदयपुरले आज गाइघाटमा आयोजना गरेको उदयपुरको पर्यटन प्रबर्धन बिषयक अन्तरक्रियामा सहभागीहरुले यस्तो निश्कर्ष निकालेका हुन ।
कार्यक्रममा सहभागी बक्ताहरुले गाउँको विकासमा धार्मिक, सामाजिक, साँस्कृतिक र ऐतिहासिक स्थलहरुको पर्यटकीय आधारको विकासबाट उदयपुरको समृद्धि सम्भव भएको बताए । उनीहरुले जिल्लाको समृद्धिका लागि पर्यटनलाई मुख्य आधार बनाउनु पर्ने निचोड पनि निकालेका छन ।
कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि बस्नेतले स्थानीय पर्यटन प्रवर्धनमा पत्रकारहरुको भूमिका निकै महत्वपूर्ण हुने भन्दै खोजी पत्रकारिताका माध्यमबाट पर्यटकीय स्थलहरुको बारेमा सूचनना प्रवाह गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले स्थानीय क्षेत्रको पबर्धनका लागि सञ्चार क्षेत्रलाई स्थानीय सरकारको सहयोग गर्नुपर्ने आवश्यकता पनि औल्इाउनु भयो । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद र नेपालको संबिधानको सारलाई ब्यवहारमा उतार्न समृद्ध नेपाल ः सुखी नेपाली को नारा ल्याउनु भएको भन्दै अध्यक्ष बस्नेतले अव मुलुकको बिकासतर्फ पत्रकारिताको मिशन केन्द्रित हुनुपर्ने बताउनु भयो । बस्नेतले अव नेपाली प्रेसले लडाउने र फटाउने नभई देश बनाउने कामको अभियान थाल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले पर्यटन उदयपुरको बिकासको महत्वपूर्ण आधार बन्ने बताउनु भयो । उदयपुर जिल्लाका पहाडी क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरु रहेको तर स्थानीय सरकारले आफ्नो कार्य क्षेत्रमा परे पनि विकास, संरक्षण तथा संम्वद्र्धनमा ध्यान नदिँदा ती स्थानहरु पछि परेकोले ती स्थानहरुलाई कृषि पर्यटन प्रवर्धन कार्यक्रमसँग जोडेर समृद्धिको यात्रामा लाग्नपर्ने सांसद रायमाझीको भनाई छ ।
रायमाझीले उदयपुरमा पर्यटन प्रवर्द्धन कार्यक्रमकालागि महत्वपूर्ण स्थानहरु रहेको र यसका लागि सडक सञ्जाल आवश्यक भएकोले आफूले पहल गरिरहेको जानकारी पनि लिनुभयो । सांसद रायमाझीले सडक विद्युत खानेपानी लगायतका भौतिक पूर्वाधार निर्माण समृद्धिका आधार भएकोले मदन भण्डारी लोकमार्गसँग जोडिएर पहाडी क्षेत्रमा जाने मुर्कुची पुवारे लिम्चुङबुङ हलेसी, कोशी करीडोर, लगायतका महत्वपूर्ण अन्य सडक तथा भौतिक पूर्वाधार, आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर आफूले काम गरिरहेको बताउनु भयो ।
यस्तै एमाले जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले समृद्ध जिल्ला निर्माण गर्ने पार्टीको नीति अनुसार आफूले उदयपुरको पर्यटनलाई समृद्धिसँग र समृद्धिलाई पर्यटनसँग जोड्न जनवर्गीय संगठनहरुसँग छलफल गरेको र जिल्लाभित्रका पर्यटकीय स्थलहरुको विकास, संरक्षण, संवद्र्धन र पहिचानका लागि योजनावद्ध काम अघि बढाएको बताउनु भयो ।
कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खडकालगायतका बक्तहरुले पर्यटन प्रबर्धन अनिवार्य रहेको ठहरसहित प्रबर्धनको काममा स्थानीय सरकार र सञ्चार क्षेत्रले सहकार्य गर्दै अघि बढनु पर्ने बताउनु भयो ।
सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याव) का उपाध्यक्ष एवं प्रेस चौतारीकी नेतृ बन्दना दनुवारले कार्यपत्र प्रस्तुत गर्नुभएको सो कार्यक्रममा अन्य वक्ताहरुले जिल्लाका विभिन्न पालिकाहरुमा रहेका पर्यटकीय स्थलहरुलाई प्रचार प्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सके रोजगारी तथा आय आर्जनमा ठूलो मद्दत पुग्ने र समृद्धिको दिगो आधार बन्नसक्ने बताउनु भयो । पत्रकार दनुवारले उदयपुरको पर्यटन प्रवर्धन विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमाथि एमाले उदयपुरका उपसचिव टेकबहादुर राउत, प्रेस चौतारीका इञ्चार्ज शन्तोष बस्नेत, पत्रकार बैकुण्ठ दाहाल, माधव पोखरेल गोज्याङ्ग्रे, सागर नेपाली, भुवन दाहाल, जयराम मगर, प्रेस चौतारी उदयपुरकी पूर्वअध्यक्ष बविता परियार लगायतका वक्ताहरुले जिल्लाको पर्यटन प्रवर्धनमा गर्नैपर्ने कामबारे आफ्नो सुझाव राख्नुभयो । प्रेस चौतारी नेपाल उदयपुर शाखाका अध्यक्ष पुरुषोत्तम सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव अन्जनीकुमार अधिकारीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्