जनता टाइम्स

१५ फाल्गुन २०८०, मंगलवार १६:२२

अख्तियारको निसानामा पूर्वसञ्चारमन्त्री, टेरामक्सदेखि ७० करोड टेप काण्डको अनुसन्धान अन्तिम चरणमा


काठमाडौं, फागुन १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको अनुसन्धान सकिएको जानकारी दिनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दुई चर्चित काण्डको बिषयमा मुख खोल्दै प्रमुख आयुक्त राईले टेरामक्सको अनुसन्धान सकिएको तथा ७० करोड टेप काण्डको अनुसन्धान भइरहेको तथ्य खोल्नुभएको हो ।

संसदको सार्वजनिक लेखा समितिको आजको बैठकमा अख्तियार प्रमुख राईले दुवै प्रकरणमा बयानको अनुसन्धान र विश्लेषण भइरहेको बताउनु भयो । टेरामक्स प्रकरणबारे प्रमुख आयुक्त राईले भन्नुभयो, ‘अनुसन्धान करिव–करिव अन्तिम अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु । केही समयभित्रै रिजल्ट आउनसक्छ ।’

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध कल वाइपासको अनुगमन गर्न खरिद गर्न लागेको टेरामक्स प्रविधिमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन गरिरहेको छ । सो प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीका हैसियतमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै अख्तियारले बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन सञ्चार सचिव रहेका हालका मुख्यसचिव बैकुण्ठ अर्यालसँग पनि बयान लिएको छ ।

यस्तै अर्का पूर्वमन्त्री गोकुल बाँस्कोटाको पद नै गएको ७० करोड टेप काण्डको पनि अनुसन्धान भइरहेको राईले बताउनु भयो । प्रमुख आयुक्त राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको बताउनु भयो । ‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो । हामीले छानबिन गरिरहेको छौं । पोख्त प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोष ठह¥याएर (मुद्दा) लैजान हुँदैन,’ राईको भनाई थियो ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भएको थियो । यो विवादपछि बास्कोटाको मन्त्री पद गएको थियो ।