जनता टाइम्स

१५ फाल्गुन २०८०, मंगलवार २०:४६

प्रवासी नेपाली मञ्च युरोपको प्रथम भौतिक बैठकको तयारी पूरा, एमाले उपाध्यक्ष बिष्णु पौडेल प्रमुख अतिथी


स्पेन, फागुन १५ । प्रवासी नेपाली मञ्च युरोप महादेशको प्रथम भौतिक बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम यही मार्च १० र ११ गते स्पेनको बार्सिलोनामा हुने बस्ने भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा समृद्ध नेपाल : सुखी नेपालीको लक्ष्य पूरा गर्न प्रवासबाठ खेल्नुपर्ने भूमिकाको बिषयमा केन्द्रित रहने युरोप महादेश कमिटीका संयोजक मुक्त गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री पौडेलका अतिरिक्त प्रवासी नेपाली मञ्चका इञ्चार्ज डा. राजन भट्टराई, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पा बिशेष अतिथी रहनुभएको छ ।बैठकमा युरोप महादेशका १९ वटै राष्ट्रिय कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सहभागी हुन आमन्त्रण गरिएको छ ।

संयोजक गुरुङका अनुसार दुई दिने कार्यक्रमको पहिलो दिन बैठक र दोस्रो दिन प्रशिक्षण कार्यक्रम राखिएको छ । बैठकले युरोपमा संगठन चलायमान बनाउनका लागि नीतिगत निर्णय र कार्ययोजना तय गर्ने अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले जानकारी दिनुभयो ।

भौतिक बैठकले बिशेष गरी युवाहरुलाई पार्टीप्रति आकर्षित गराउन युरोपमा रहेका दोस्रो पुस्ताका युवाहरु जो शैक्षिक रुपमा राम्रो योग्यता हासिल गरेका मानिसका लागि छुट्टै सेसन समेत राखिएको छ । बिदेशमा प्राप्त ज्ञान र सीपलाई कसरी नेपालमा हस्तान्तरण गर्ने भन्ने बिषयलाई बिशेष फोकस गरिएको सचिव शेर्पाको भनाई छ ।