जनता टाइम्स

१६ फाल्गुन २०८०, बुधबार ०९:१५

गोल्डेन बुटको दाबेदार सावित्रा : दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता


काठमाडौं, १६ फागुन । राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बन्नुभएको छ।

सावित्राले भारतीय राष्ट्रिय महिला टिमकी खेलाडी बाला देवीको नाममा रहेको ५२ गोलको कीर्तिमान तोड्नुभएको हो। ​ साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत गए राति भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले करियरमा अर्को कोशेढुंगा पार गर्नुभएको छ । सावित्राले ७६औं मिनेटमा गोल गर्नुभएको थियो।

उहाँले १–० गोलले पछि रहेको नेपालका लागि बराबरी गोल फर्काउनुभएको थियो । बाला देवीले ६४ खेलमा ५२ गोल गर्नुभएको थियो। २६ वर्षीया सावित्राले ४६ खेलमा ५३ गोल गर्नुभएको हो। जारी प्रतियोगितामा सावित्रा उच्च गोलकर्ताको सूचीको पहिलो स्थानमा हुनुहुन्छ। उहाँको नाममा ९ गोल रहेको छ। सावित्राले समूहको पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गर्दा एक गोल गर्नुभयो। दोस्रो खेलमा नेपालले इराकलाई ५–० ले पराजित गर्दा पाँचै गोल सावित्राले गर्नुभयो। यही खेलमार्फत उहाँले ५० गोल पूरा गर्नुभएको हो। समूहको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध उहाँले दुई गोल गर्नुभएको थिो। उहाँ वाफ च्याम्पियनसिपमा गोल्डेन बुटको दाबेदार हुनुहुन्छ ।