जनता टाइम्स

१६ फाल्गुन २०८०, बुधबार १८:४३

वायुसेवा सञ्चालक संघको अध्यक्षमा समिट एयरका मनोज कार्की


काठमाडौं, १६ फागुन । नेपाल वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चयन हुनुभएको छ । हालको समितिमा महासचिव रहेका कार्की अध्यक्षमा चयन हुनुभएको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकोप्टरका प्रवन्ध निर्देशक प्रतावजंग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका प्रवन्ध निर्देशक निमानुरु शेर्पा र उपाध्यक्षमा श्री एयरलाइन्सका प्रवत्ता अनिल मानन्धर, महासचिवमा यति एयरलाइन्सका एकाउन्टेवल म्यानेजर सुभास सापकोटा र कोषाध्यक्षमा बुद्ध एयरका प्रवक्ता रुपेश जोशी निर्वाचीत हुनुभएको छ ।

नयाँ समितिको औपचारिक रुपमा घोषणा गरिएको छैन । भोली हुने संघको २३औं साधारण सभाको पूर्वसन्ध्यामा आज सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

२ वर्षे कार्यकालका लागि चयन हुने पदाधिकारी र कार्यसमितिका लागि आजै सर्वसम्मत चयन गरिएको संघले जनाएको छ । यसअघिका साधारणसभामा पनि एक दिन अघि नै नयाँ कार्यसमिति चयन गर्ने परम्परालाई यो पटक पनि निरन्तरता दिइएको हो । संघका एक सदस्यका अनुसार अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन गरिएको छ । संघभित्र नयाँ नेतृत्व आउँदा प्राधिकरणसँग समन्वय गर्न सक्ने खालको व्यक्तिको खोजी गर्ने क्रममा कार्कीलाई सर्वसम्मत गरिएको एक पदाधिकारीले बताउनुभयो ।