जनता टाइम्स

१६ फाल्गुन २०८०, बुधबार २३:४१

प्रहरी धरपकडप्रति बैंकसम्बन्धी चार संस्थाको कडा आपत्ति, प्रहरीले उल्टो बाटो लिएको निश्कर्ष (पूर्णपाठ)


काठमाडौं, फागुन १६ । बैंक तथा वित्तीय संस्थामाथि नेपाल प्रहरीले गरेको धरपकडप्रति बैंकसम्बन्धी चार संस्थाले कडा आपत्ति जनाएका छन । चार संस्थाले बिज्ञप्ति नै जारी गरेर प्रहरीको धरपकडप्रति आपत्ति जनाएका हुन ।

नेपाल प्रहरीले केही समययता विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा भएका कमजोरी छानबिन गर्न आरोपित कर्मचारीलाई पक्राउ गरेको विषयलाई बैंकसम्बन्धी चार संस्थाले विरोध गर्दै उल्टो बाटो नअपनाउन आग्रह पनि गरेका छन् ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै घटनामा दोषी प्रमाणित नहुँदै गरिएको धरपकडले बैंकरहरुको मनोवल घटाएको उल्लेख गरिएको छ । ती संस्थाहरुले जारी गरेको विज्ञप्तीमा पहिले दोषी प्रमाणित भएपछि मात्रै थुन्ने विषयलाई ध्यान दिन प्रहरीलाई आग्रह गरिएको छ ।

प्रहरीको धरपकडप्रति आपत्ति जनाउँदै बुधबार जारी गरिएको विज्ञप्तिमा ‘बैंकिङ्ग कसूरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया “पहिला सुन अनि थुन” हुनुपर्नेमा “पहिला थुन अनि सुन” को उल्टो प्रक्रियाले बढावा पाएको उल्लेख छ ।

बिज्ञप्तिमा भनिएको छ, ‘यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भीर असर पु¥याएको, यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने कुरा सम्बन्धित सबैलाई अवगत गराउन चाहन्छौं ।’

विज्ञप्तिमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैंकबाट जारी हुने निर्देशनहरू तथा अन्य प्रचलित ऐन, नियमको पालना गरी पारदर्शी तरिकाले बैङ्किङ कारोबार गर्दै आएको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकबाट बैङ्किङ कारोबार गर्नका लागि इजाजत पत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूको अधीनमा रही संस्थाहरूको आ–आफ्नै नीति तथा कार्यविधि बमोजिम आ–आफ्नो अधिकार क्षेत्रभित्र रही निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएको जनाइएको छ ।

‘बैंक तथा वित्तीय संस्थाहरूमा कुनै पनि लगानी सम्बन्धी कार्य गर्दा सोमा संलग्न हुने सबै कर्मचारी तथा सञ्चालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएको र कथंकदाचित कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सोमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुन बमोजिम कारबाही हिजोका दिनमा पनि भएको र अब पनि हुनुपर्नेमा हामीमा द्विविधा रहेको छैन,’ बिज्ञप्तिमा भनिएको छ ।

यसका लागि सम्बन्धित निकायलाई आवश्यक परेको खण्डमा बैंकका कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोग र समन्वयको लागि सधैँ तत्पर रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।