जनता टाइम्स

१७ फाल्गुन २०८०, बिहीबार १५:४९

प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्सको तेस्रो अधिवेशनको तयारी पूरा, यसरी हुँदैछ उदघाटनदेखि नेतृत्व चयनसम्मका काम


सिडनी (अष्ट्रेलिया), फागुन १७ । प्रवासी नेपाली मञ्च (ओएनएफ) न्यू साउथ वेल्स राज्य कमिटीको तेस्रो अधिवेशनको तयारी सवै सकिएको छ । आगामी शनिवार अर्थात मार्च २ तारिकका दिन हुन गइरहेको तेस्रो अधिवेशनको लागि सहभागी प्रतिनिधिदेखि तयारीको सवै काम पूरा भएको हो ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशीले दिनुभएको जानकारीअनुसार अधिवेशनको उदघाटन प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले गर्नुहुनेछ ।मलेसियामा सम्पन्न अन्तराष्ट्रिय कमिटीको पहिलो भौतिक बैठकपछि हुन लागेको यो अधिवशेनले संगठनलाई चलायमान बनाउने गरी नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष जोशीले बताउनु भयो ।

अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष पाण्डे प्रमुख अतिथी रहनुभएको सो अधिवेशनलाई सब्य र भब्य रुपमा सम्पन्न गर्न बिशेष योजनाका साथ काम अघि बढाइएको प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्स राज्यका अध्यक्ष कृष्ण सापकोटाले बताउनु भयो ।

‘तयारीको काम सकाएर अधिवेशन उदघाटनको प्रतिक्षामा छौं, यो अधिवेशनले बिशेष सन्देश दिने गरी एजेण्डाको बिषयमा पनि केन्द्रित भएका छौं,’ अध्यक्ष सापकोटाले भन्नुभयो । समय प्रवासी नेपाली मञ्चले संगठन सुदृढीकरण अभियानलाई बिशेष प्राथमिकता दिएको छ ।

अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले अवधी पुगेका राष्ट्रिय र राज्य कमिटीको अधिवेशन, गठन र पुनर्गठनको काम अघि बढाउँदै प्रवासमा रहेका नेपालीलाई समृद्ध नेपाल निर्माणको अभियानमा जोडन यो अभियान चलाइएको हो ।

‘प्रवासमा रहेका नेपालीलाई समृद्ध नेपाल निर्माणको अभियानमा जोडने काम मञ्चले अघि बढाएको छ । यो हाम्रो मुल काम भएको कारण यसै बिषयमा केन्द्रित रहेर हरेक बैठक र अधिवेशनमा एजेण्डा बनाइ साझा निचोड निकाल्ने प्रयाश गरिने छ,’ उपाध्यक्ष पाण्डेले भन्नुभयो ।