जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार १३:१३

घटेको मूल्यमा ग्यास नबेचे निगमले कारबाही गर्ने


काठमाडौं, असोज ७

घटेको मूल्यमा ग्यास बिक्री नगर्ने एलपी ग्यास उद्योगी तथा वितरण केन्द्रलाई नेपाल आयल निगमले कडा कारबाही गर्ने चेतावनी दिएको छ । निगमले मूल्य घटाए पनि त्यही अनुसार बिक्रीवितरण नभएको पाएपछि निगमले यस्तो चेतावनी दिएको हो ।

निगमले गत शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ घटाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि काठमाडौं उपत्यका लगायतका पहाडी क्षेत्रमा ग्यासको मूल्य प्रतिसिलिन्डर १३५० रुपैयाँ कायम गरिएको थियो । निर्णय कार्यान्वयन भए–नभएको बारे सोमबार गरेको बजार अनुगमनमा घटेको मूल्यमा किनबेच नभएको पाइएपछि सूचना निकालेर निगमले नियम पालना गर्न निर्देशन दिएको हो ।

अन्यथा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने जनाइएको छ । निगमका अनुसार काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रमा प्रतिसिलिन्डर १३५० रुपैयाँ, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा प्रतिसिलिन्डर १३१५ रुपैयाँ र अन्य तराई क्षेत्रमा प्रतिसिलिन्डर १३३० रुपैयाँ बिक्री मूल्य तोकिएको छ ।