काठमाडौं, फागुन १९ । सिरहाका मनोहर बिश्वकर्मालाई चुनावको बेला बालेन (बालेन्द्र) शाहलाई भगवानको अवतार जस्तै लाग्थ्यो । पार्टीका मेयरले हामी गरिव र गरिखानेलाई हेरेनन, बालेनले हेर्छन भन्ने बिश्वास थियो । तर उनको त्यो बिश्वास अव सकिएको मात्र होइन, उल्टो भएको छ ।
मनोहर अहिले बालेनलाई भगवान होइन, दानव देख्न थालेका छन । भन्छन, ‘भगवान मानेको मान्छे त दानव पो रहेछन ।’ मनोहर मात्र होइन, काठमाडौंमा गरिखाने बर्गमा बालेनप्रतिको बिश्वास हराएको छ । उनीहरु भगवानबाट मान्छे पनि होइन, दानवको रुप देख्न थालेका छन ।
बालेनप्रतिको बिश्वासमा रहेका तिनै मानिस अहिले भन्दैछन, ‘आफै पुरिने खाल्डो पो खनिएछ । उस्ले त हामी गरिखानेलाई पुलिसको लाठी बर्सायो, काठमाडौंमा बाँच्ने आधार सकाइदियो । अव गाऊँतिरै लाग्ने निर्णयमा पुगिएको छ ।’
काठमाडौं महानगरपालिकाले फुटपाथ ब्यापारीमाथ गरेको ज्याद्धती भोगेका मनोहर अव गाउँमै गएर जेनतेन जिविका चलाउने निधोमा पुगेका छन । बिगत दश बर्षदेखि काठमाडौंमा फुटपाथ ब्यापार गर्दै आएका मनोहर बिश्वकर्माको भनाई हो यो ।
पछिल्लो अभिलेखअनुसार काठमाडौं महानगरमा १० हजार व्यवसायीहरू थिए । दुःख गरेर आफ्नो जिविकोपार्जन गरिरहेका अधिकांश व्यवसायीहरू महानगरको दमनका कारण बाँच्न र परिवार पाल्नकै लागि साहुसँग ऋण काडेर विदेश पलायन हुनुका साथै गाउँ फर्किएका छन । त्यसैको परिणाम अहिले काठमाडौं महानगरका चोकचोकका दृष्यहरु देखिन थालेका छन ।
केही समय अघिसम्म साँझ ढल्दै गर्दा अधिकांश नगरवासी बासस्थानतिर लाग्दै गर्दा फुटपाथमा व्यापार गर्ने केही भने पोकापन्तरा बोकेर सहरका चल्तीका चोक, स्थानतर्फ लाग्थे । पसल फिँजाएर ग्राहक बोलाउँथे । सस्ता सामान चाहनेका लागि यस्ता घुम्ती पसलहरु निकै आकर्षक गन्तव्य थियो । तर अहिले सुनसान छ हरेक चोकहरु ।
काठमाडौंको सुन्धारा क्षेत्रमा गत बुधबार यसरी नै आएका झन्डै ७ दर्जन नगर प्रहरीले बल प्रयोग गरी तीन दर्जन फुटपाथ व्यापारीलाई निर्मम कुटपिट गरी घाइते बनाइदिएपछि उनीहरु अव शहरमा बस्न नसकिने निश्कर्षमा पुगेका हुन । फुटपाथ व्यवसायी अगुवा कुमार सापकोटाका अनुसार बुधबार राति पौने ८ बजे काठमाडौं महानगरपालिकाको सुन्धारामा नगर प्रहरी आएर फुटपाथ व्यवसायीमाथि एक्कासि भौतिक आक्रमण गर्यो ।
करिब ५० जना नगर प्रहरीको हुल लिएर आएका नगर उपरीक्षक मनोज लामिछानेको टोलीले भटाभट लाठी चार्ज गर्न थाल्यो । एकछिन त फुटपाथ व्यवसायीले के भएको हो भन्ने नै भेउ पाएनन् । एकाएक कुटाइ खाइरहे । नगर प्रहरीको आक्रमणमा परी ७ जना फुटपाथ व्यवसायी घाइते भए । नगर प्रहरीको आक्रमणबाट फुटपाथ व्यवसायी बद्री देवकोटा, नानीमाया बस्नेत, राधिका मैनाली, राधा डंगोल, अर्जुन भट्टराई र अर्का एक घाइते छन् । उनीहरूलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न लगिएको थियो ।
हुन पनि त्यसदिन नगर प्रहरीले लछारपछार पार्दै सामानसमेत खोसेर लगिदिए । काठमाडौं महानगरले विकल्पबिनै बल प्रयोग गरी फुटपाथ क्षेत्र खाली गराउन थालेपछि सडकलाई नै जीविकोपार्जनको थलो बनाउँदै आएका व्यवसायीहरू विस्थापित भएका हुन ।
गरिब, विपन्न, निमुखाहरूको रोजीरोटी बनेको फुटपाथ व्यापारमाथि एक वर्षयता महानगर निकै निर्मम बनेको छ । स्वरोजगार संघकी अध्यक्ष माया गुरुङका अनुसार सुन्धारा, धरहरा, काठमाडौं मल क्षेत्र आसपास मात्रै साढे दुई सय जति फुटपाथ व्यापारी थिए । अहिले मुस्किलले ३५ जना जति मात्रै छन ।
गुरुङका अनुसार महानगरको ज्याद्धतीले ८५ प्रतिशतभन्दा बढी विस्थापित भइसकेका छन । फुटपाथका व्यापारीहरूका तीन संगठनहरूको तथ्यांकमा पनि महानगरभित्र १० हजार जति फुटपाथ व्यवसायी थिए । ‘महानगरको दमनका कारण केही युवाहरू बिदेसिएका र केही उपाय नै नभएपछि गाउँ फर्किन बाध्य भए,’ गुरुङले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्