जनता टाइम्स

२० फाल्गुन २०८०, आईतवार ००:०८

जापानबाट ओएनएफ अध्यक्ष सञ्जय थापाको आह्वान : एनआरएनए समाप्त पार्न लाग्नेहरुबिरुद्ध सवै एकजुट बनौं


जापान, फागुन २० । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई समाप्त पार्ने अभियान चलाइएको भन्दै प्रतिवादमा उत्रन बिदेशमा रहेका सवै नेपालीलाई आह्वान गर्नुभएको छ ।

संगठन सुद्धिकरण सुदृढीकरण अभियान लिएर बिश्व भ्रमणमा रहनुभएका ओएनएफ अध्यक्ष थापाले जापान भ्रमणको क्रममा आयोजित कार्यक्रममा यस्तो आह्वान गर्नुभएको हो ।

अध्यक्ष थापा जापान आइपुगेको अवसर पारेर आज नायोगा क्षेत्रीय कमिटी भेटघाट र अन्तरक्रियाको आयोजना गरेको हो । सो कार्यक्रममा बोल्दै थापाले गलतलाई गलत भन्न नसक्नेहरुले कुनैपनि काममा सफलता प्राप्त गर्न नसक्ने बताउनु भयो ।

लामो समय एनआरएनएकै नेतृत्व तहमा रहेका ब्यक्तिहरु नै अहिले चुनावमा हारियो भनेर संस्थाबिरुद्ध लागेको भन्दै अध्यक्ष थापाले अव प्रवासमा रहेका सवै नेपालीले प्रतिवाद गर्नैपर्ने बताउनु भयो । भेरोले गरेको संघको निर्वाचनमा पहिलो भई जित्ने डा. बद्रि केसीसहितका पदाधिकारीलाई अस्वीकार गर्ने तर दोस्रो भएका आरके शर्मालाई अध्यक्ष भन्दै हिडेर संस्था नै नविकरण गर्न नदिने र सवै गैर आवासीय नेपालीको मेहनतमा पानी खन्याउन लागेको थापाले बताउनु भयो ।

‘चुनावमा पहिलो भोट ल्याउनेलाई नमान्ने, त्यही सिष्टममा दोस्रो भोट ल्याउनेलाई चाँहि मानेर संस्था सकाउने जुन अभियान चलाइएको छ, यो गलत कामको बिरुद्ध सवै एकजुट हुनुपर्छ, ‘अध्यक्ष थापाले भन्नुभयो, एनआरएनएबिरुद्ध अभियान चलाएका ती गलत ब्यक्तिहरु तपाई हामीकहाँ आए भने तपाईंको योअभियान गलत छ, तत्काल सच्चिनोस र संस्थाबिरुद्ध लाग्ने काम आजैबाट छाडनोस भनेर हामीले सचेत गरे पठाउनु पर्छ, त्यस्ता गलत प्रबृत्ति बोकेर आउने मानिसलाई हमीले स्वागत होइन बहिष्कार गरेर ठीक ठाउमा आउन बाध्य पार्नुपर्छ ।’

अध्यक्ष थापाले थप्नुभयो, ‘चुनाव हारेपछि एउटा समुहले भित्र्याएको एनआरएनएभित्रको बिकृतिबिरुद्ध प्रवासमा रहेका सवै नेपाली निर्मम बन्नुपर्छ । तिनीहरुलाई मलजल होइन, तिमी गलत छौं भनेर भन्नुपर्छ ।’ चुनाव हारेको समुहले सरकारलाई समेत गलत पोल लगाएर संस्था नविकरकण नै हुन नदिने षडयन्त्र गरिरहेको भन्दै कडा आपत्ति जनाउनु भयो । ‘साथीहरु यतिसम्मको बेइमान निस्कनु भयो कि उहाँहरुले लगाएकोपोल सुनेर संस्था नविकरण गर्न जाँदासमेत सरकारले गरिदिएन । अदालतको आदेश चाहियो । एनआरएनएबिरुद्ध यति धेरै लाग्नेहरुलाई सही ट्याकमा ल्याउन हामी मैदानमा उत्रनुपर्छ,’ थापाको भनाई थियो ।

उहाँले चुनाव हारेको समुहले लोकतन्त्रकै हुर्मत लिएको पनि बताउनु भयो । ‘साथीहरुले लोकतन्त्रकै हुर्मत लिएर एनआरएनएलाई समाप्त पार्न र सकाउने अभियानमा लागे । एनआरएनए समाप्त पार्ने यो अभियान बिदेशमा रहेका सवै नेपाली निर्मम रुपमा प्रतिवादमा उत्रनुपर्छ र यो संस्थालाई जोगाउनु पर्छ । यति धेरै बिकृति लिएर आउने साथीहरुलाई प्रोत्साहन दिनुहुन्न,’ थापाले अगाडि भन्नुभयो, ‘त्यस्ता साथीहरु आए भने सचेत गराएर जानुपर्छ । एनआरएनलाई जसरी पनि जोगाउनु पर्छ भन्ने अभियानमा ओएनएफ लागेका छौं तर हामी मात्रै लागेर पुग्दैन । सवै हाम्रो हातमा मात्रै छैन ।’

अध्यक्ष थापाले एनआरएनएबिरुद्ध प्रदर्शन गरिएको गाइजात्राको पनि हद भएको बताउनु भयो । उहाँले प्रवासी नेपाली मञ्च समृद्ध नेपाल निर्माणको अभियानमा दृढ संकल्पित रहेको भन्दै मातृभूमिको समृद्धि अभियानमा प्रवासमा रहेका सवै नेपालीलाई खुला हृदयल सघाउनु पर्ने बताउनु भयो ।

अध्यक्ष थापाको जापान भ्रमणको क्रममा क्युस्यु क्षेत्रीय कमिटीले आयोजना गरेको भेटघाट र अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुनुभएको छ । कार्यक्रममा प्रवासी नेपाली मञ्चको नीति, कार्यक्रम र विधानलाई आत्मासात गर्दै सदस्यता प्राप्त गरेका प्रवासी नेपालीलाई अध्यक्ष थापाले शपथग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्चका जापानमा रहेका अन्तराष्ट्रिय कमिटीका सदस्य, पूर्वएशिया महादेश कमिटीका सदस्य, जापानका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुदेखि एनआरएनएका नेताहरुको समेत सहभागिता रहेको थियो ।