जनता टाइम्स

२१ फाल्गुन २०८०, सोमबार ०८:२७

त्यो आँसुलाई कहिल्यै बिर्सने छैन


अहिले पनि म सम्झिरहेको छु– त्यस रात अबेलासम्म म सुत्न समेत सकेको थिईंन । अहिले ५० वर्ष पुरा भैसकेको छ । झापाली क्रान्तिकारी शहीदहरूको सम्मानमा त्यसवेला आफ्ना आँखाबाट बगेका आँसुलाई मैले अहिलेसम्म बिर्सन सकेको छैन । र, कहिल्यै बिर्सने पनि छैन ।

ईश्वर पोखरेल

आजभन्दा ५० वर्ष अघि – सँधै झैं २०२९ साल फागुन २२ गते साँझपख हामी केही युवा साथीहरू जनकपुरको भानुचोक कै दक्षिणमा रहेको एउटा सानो कल्भर्टमा जम्मा भयौं । ‘आँखा साहित्यिक पत्रिकाका सम्पादक तथा मिल्ने साथी लक्ष्मण खरेलले हातमा एउटा पत्रिका बेरेर ल्याएका थिए । उनले ल्याएको पत्रिकाप्रति त्यहां रहेका अरू सबैको उत्सुकता पोखियो । उनले आफूले ल्याएको पत्रिका फैलाउँदै गंभीर मुद्रामा भनेका थिए, ‘झापामा सरकारले नेत्रहरूलाई गोली हानी हत्या गरेछ !’

साँझ परेर अँध्यारो भैसके पनि मैले त्यसबेला उनको हातमा रहेको ‘गोरखापत्र‘ तानेर लिएको थिएँ । नजिकै रहेको बिजुलीको पोल छेउ उभिएर टिमटिम गर्दै बलिरहेको उज्यालोमा मैले केही छिनमै त्यो समाचार त्यहाँ रहेका सबैलाई पढेर सुनाएको थिएँ ! झापाली क्रान्तिकारीहरू– नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुईंकेल, विरेन राजवंशी र नारायण श्रेष्ठलाई झापा जेलबाट इलाम जेल सार्ने निहुँमा सुखानीको जंगलमा गोली हानी हत्या गरिएको समाचार छापिएको थियो ।

समाचार सुनिसकेपछि केही छिन त हामीबीच सन्नाटा छाएको थियो । हामी सबै केही नबोली अँध्यारो अनुहार लगाएर बसेका थियौं । त्यतिबेला हामी सबैका आँखा रसाएका थिए । हामीमध्ये केही त रोएकै थियौं । हामीले एक अर्काको हात समातेका थियौं र आँसु पुच्छदै हत्याको बदला लिने संकल्प गरेका थियौं । हामीमा त्यो अठोट त्यसवेला कसरी आयो ? भन्न सक्तिन । त्यसवेला त्यहाँ रहेका हामी सबैको मन एकैचोटी बोलेको थियो । त्यसदिन हामी केही परसम्म संगै हिडेर छुट्टिने वेलामा हात मिलाउँदा पनि बोल्न सकेका थिएनौं ।

अहिले पनि म सम्झिरहेको छु– त्यस रात अबेलासम्म म सुत्न समेत सकेको थिईंन । अहिले ५० वर्ष पुरा भैसकेको छ । झापाली क्रान्तिकारी शहीदहरूको सम्मानमा त्यसवेला आफ्ना आँखाबाट बगेका आँसुलाई मैले अहिलेसम्म बिर्सन सकेको छैन । र, कहिल्यै बिर्सने पनि छैन । झापा संघर्षले आमुल परिवर्तनको उद्देश्य राखी सल्काएको परिवर्तनको झिल्को आजको नेकपा (एमाले) को रूपमा मैदानमा आएको छ । अहिले यो सबै किसिमका चुनौतीहरूको सामना गर्दै मुलुकभरि नै चहकिलो उज्यालो बनेर फैलिइरहेको छ ।

शहीदहरूका सपना साकार पार्ने अभियान जारी छ !!
हार्दिक श्रद्धान्जली अमर शहीदहरू !!