जनता टाइम्स

२१ फाल्गुन २०८०, सोमबार १२:३०

जस्ले सुईंकोसम्म नदिई फत्ते गरे ओली–प्रचण्डको टास्क


जव पौडेलले गठबन्धन निकै धरमराएको जानकारीसहित अध्यक्षद्वयको बार्तासँगै खेल सकिने जानकारी दिनुभयो, अध्यक्ष ओलीले आइतवार गठबन्धन भत्कने प्रष्टै संकेत गर्नुभयो । आइतवारको एक कार्यक्रममा ओलीले यो सरकारको को रहन्छ ? को रहन्न भन्न सक्ने अवस्था छैन भन्दै अर्थमन्त्रीलाई आफ्नो निशाना बनाउनु भयो । ओलीको यो बोलीसँगै सत्ता गठबन्धन भत्कियो । खेल सकियो

गणेश बस्नेत

‘मेरो जरुरी काम छ, अध्यक्षले जिम्मा दिनुभएको छ, त्यो काम बीचैमा छाडेर आउन मिल्दैन होला,’ नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले केही दिनयता धरै प्रयोग गर्ने गरेको शब्द हो यो । कार्यक्रमको निम्तो भन्दै फोन गर्ने र भेटन आउने नेता कार्यकर्तालाई यसरी नै सम्झाएर फर्काउने गर्नुभएका उपाध्यक्ष पौडेलको जरुरी काम बर्तमान गठबन्धन भत्काउनु थियो ।

एमालेले सञ्चालन गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प अभियानकै क्रममा अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन फेर्नैपर्ने निश्कर्ष सुनाउनु भएपछि गृहकार्य अघि बढेको थियो । सोही योजनानुसार उपाध्यक्ष पौडेलसहितको कोर टीमलाई अध्यक्ष ओलीले त्यो काम फत्तै गर्ने जिम्मा दिनुभयो । आफूले गर्न लागेको काम र योजना कसैलाई सुइकोसमेत नदिइ फत्ते गर्न माहिर पौडेलले यसपटक पनि त्यही गर्नुभयो ।

जिम्मेवारी पाएलगत्तै पौडेलले यस कामका लागि नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन र रास्वपाका अध्यक्ष रवि लामिछार्नलाई सारथी बनाउनु भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीकै हैसियतमा रहनुभएका रास्वपा अध्यक्ष लामिछानेदेखि माओवादी नेता पुन पौडेलको प्रस्तावमा तत्कालै सहमत हुनुभयो । यो कामलगत्तै सुरु भयो कांग्रेस नेतृत्वको गठबन्धन भत्काउने अभियान । सहमति निर्माणमा अब्बल सावित एमाले उपाध्यक्ष पौडेलले पुनसँगै माअ‍ोवादीका अर्का उपमहासचिव जनार्दन शर्मासँग पनि छुट्टै कराकानी अघि बढाउनु भयो । पुस १० मा बनेको गठबन्धन किन र कसरी भत्कियो भन्ने बिषयमा जानकारी पौडेलले रास्वपा अध्यक्ष लामिछानेलाई पनि साथमै राख्नुभयो ।

पार्टीभित्रकै नेताहरुलाई सुईकोसम्म नदिएर अघि बढाइएको कांग्रेस महासमिति बैठकबाट गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रतिवेदन पास भएसँगै प्रधानमन्त्री दाहाल कांग्रेस सभापति शेरबहादुर देउवासँग झस्किनुभयो । त्यसपछि गठबन्धन अघि नबढने निश्कर्षसहित देउवाका बिश्वासपात्र अर्थमन्त्री प्रकाशशरण महत र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई हटाउने कार्ड फाल्नुभयो । प्रधानमन्त्रीको यो प्रस्तावले देउवाले देखाइदिने धम्की दिएपछि बिच्कनुभएका दाहालले एमाले अध्यक्ष ओलीलाई सहकार्यको संकेत दिनुभयो ।

बालुवाटारबाट घोक्र्याएपछि बालकोट शीतलनिवास पुर्याइ प्रधानमन्त्रीको कुर्सी उपहार दिनुभएका ओलीले दाहालको त्यो संकेतलाई पर्ख र हेरको नीतिमा राख्नुभयो । कुराकानी सकारात्मक रुपमा अघि बढदा नेताहरुको बोली पनि फेरियो । जव पौडेलले गठबन्धन निकै धरमराएको जानकारीसहित अध्यक्षद्वयको बार्तासँगै खेल सकिने जानकारी दिनुभयो, अध्यक्ष ओलीले आइतवार गठबन्धन भत्कने प्रष्टै संकेत गर्नुभयो । आइतवारको एक कार्यक्रममा ओलीले यो सरकारको को रहन्छ ? को रहन्न भन्न सक्ने अवस्था छैन भन्दै अर्थमन्त्रीलाई आफ्नो निशाना बनाउनु भयो । ओलीको यो बोलीसँगै सत्ता गठबन्धन भत्कियो । खेल सकियो ।

सोहीअनुसार पौडेल, पुन र लामिछानेले रातभर जाग्राम बसेर नयाँ गठबन्धनलाई मुर्त रुप दिएर ओली प्रचण्डलाई जानकारी गराउनु भयो । आइतवार बिहान भएको ओली दाहाल बार्तापछि जव निर्णय भयो, तव मात्रै कांग्रेसले गठबन्धन तोडिदै छ भन्ने सूचना पायो । यसबेलासम्म ओलीले पुस १० को गठबन्धनमा रहेका राप्रपाबाहेकका सवैलाई सहमत गराइसक्नु भएको थियो । सो कामलगत्तै आज बिहान बोलाइएको गठबन्धनको बैठक प्रधानमन्त्री दाहालले स्थगित गरिदिनुभयो भने ओलीले निवासमै सचिवालयको आकस्मिक बैठक बोलाउनु भयो । सो बैठकले माओवादी गठबन्धन तोडन तयार भए नयाँ समिकरणका लागि तयार भएको निर्णय सुनायो । बालकोटको एमाले सचिवालय बैठक सकिँदासम्म रास्वपा र जनमतका नेताहरु पनि भेला भए । त्यसपछि एकसाथ बालुवाटार पुगेपछि जुट्यो नयाँ सहमति ।

सहमतिअनुसार केन्द्रसहित प्रदेश सरका पनि हेरफेर हुनेछ । सातै प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ । कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि फेरि प्रदेश सरकारको नेतृत्व फेरिन लागेका हो । अहिले चार वटा प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्दैआएको छ । कांग्रेस अव सवैतिर सत्ता बाहिर पुगेको छ । नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री दाहाल कार्यान्वयनका लागि शीतलनिवास जानुभएको छ ।