जनता टाइम्स

२१ फाल्गुन २०८०, सोमबार २३:२५

प्रवासमा चल्यो समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिकाबारे बहश, एमाले सचिव पद्मा अर्याल र ओएनएफ अध्यक्ष सञ्जय थापाले दिए बिशेष प्रशिक्षण


जापान, फागुन २१ । प्रवासी नेपाली मञ्चले समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने काममा प्रवासमा रहेका नेपालीलाई आह्वान गरेको छ ।

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई प्रमुख अतिथी र अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापालाई बिशेष अतिथि बनाएर प्रवासी नेपाली मञ्च जापानले समृद्ध नेपाल निर्माणको अभियानमा प्रवासी नेपालीको भूमिकाबारे बिशेष प्रशिक्षण दिएको हो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अघि बढाइएको समृद्ध नेपाल : सुखी नेपाली अभियानलाई सफल पार्ने उदघोषसहित मञ्चले बिश्वभर अभियान चलाएको छ । यही क्रममा जापानमा समृद्ध नेपाल निर्माणको बिषयमा बिशेष अन्तरक्रियाको आयोजना गरिएको हो । कार्यक्रममा प्रवासी नेपालीको भूमिकाबारे सवैको सुझाव लिएर प्रमुख अतिथी अर्याल र बिशेष अतिथी थापाले जवाफ दिनुभएको थियो ।

समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि प्रवासी नेपालीहरूको भूमिका बिषयक अन्त्रक्रियामा बक्ताहरुले प्रवासबाट सघाउने अठोट गरेका छन । कार्यक्रममा आफ्नो धारणा राख्दै एमाले सचिव अर्यालले समृद्ध नेपाल : सखी नेपाली निर्माणको राष्ट्रिय आकांक्षा पूरा गरेरै छाडने अठोट नेकपा एमालेले गरेको बताउनु भयो । उहाँले यो अभियान कसैबिरुद्ध नभएको र स्वदेश तथा बिदेशमा रहेका सवैको साझा आकांक्षा भएकोले सवैले साथ दिनुपर्ने धारणा पनि राख्नुभयो ।

कार्यक्रममा बोल्दै प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले समृद्ध नेपाल निर्माणमा सघाएर अघि बढन अपिल गर्नुभयो । प्रवासमा रहेका सवै नेपाली कुनै जात, धर्म, लिंग वा बिचारका नभई एकजुट भएर अघि बढनुको बिकल्प नभएको पनि थापाले बताउनु भयो । उहाँले समृद्ध नेपालको अभियानमा साथ दिएर प्रवासमा रहेका नेपाली सवै एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष थापाले प्रवासमा रहेका नेपाली समृद्ध भएपछि नै मातृभूमिलाई सघाउने सकिने भन्दै यस काममा सवै लाग्नुपर्ने बताउनु भयो ।

अध्यक्ष थापाले गैर आवासीय नेपाली नागरिकता कागजको खोस्टो सहर बनाएको भन्दै सच्याउन जरुरी रहेको बताउनु भयो । उहाँले सम्पत्तिमाथिको अधिकारको सुरक्षा गर्न नसकेको भन्दै सच्याएर सवै प्रवासीको बिश्वास जित्न जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य सरोज कँडेल, सुरेश केसी भवानी वली, पूर्वएशिया महादेश कमिटीका संयोजक मोहन रायमाझीसहित जापानस्थित प्रवासी नेपाली मञ्चका नेताहरुसहित गैर आवासीय नेपाली संघसहित बिभिन्न संघ संस्थाका नेताहरुले आफ्नो धारणा राख्नुभएको थियो ।