जनता टाइम्स

२३ फाल्गुन २०८०, बुधबार २०:२५

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले लिए शपथ, २० सदस्यीय पुग्यो दाहाल नेतृत्वको मन्त्रिपरिषद (कार्यबिभाजनसहित)


काठमाडौं, फागुन २३ । नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा आज आयोजति समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो । जसअनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना र नेकपा एकीकृत समाजवादीका २ जना गरी मन्त्रिपरिषद २० सदस्यीय भएको छ ।

सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुनुभएको छ । भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमा सरुवा हुनुभएको छ भने वर्षमान पुन अर्थमन्त्री बन्नुभएको छ । यस्तै शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दा डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । यस्तै नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढाले शहरी बिकाश मन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।