जनता टाइम्स

२४ फाल्गुन २०८०, बिहीबार ०९:०८

मन्त्रिपरिषद बिस्तारले एमाले पङ्तीमा देखिएन कुनै उत्साह, दलित समुदाय बन्यो आक्रोशित


प्रचण्ड नेतृत्वको सरकारको मन्त्रिपरिषदमा अधिकांश पुरानै अनुहार, २० सदस्यीय मन्त्रिपरिषदमा तीन मात्रै नयाँ अनुहार, दलितको प्रतिनिधित्व नै भएन

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली मन्त्रालय जति सवै आफ्नै पार्टीमा राखेर मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ ।

नयाँ गठबन्धनमा आबद्ध दलहरूलाई समेटेर प्रधानमन्त्री दाहालले बुधबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिएलगत्तै नवनियुक्त मन्त्रीहरू सिंहदरबार पुगेर पदभार सम्हालेका छन ।

बुधबार तीन उपप्रधानमन्त्री र १६ मन्त्री नियुक्त भएका हुन । यसअघि मंगलबार एमाले, माओवादी र रास्वपाबाट एक–एकजनाले मन्त्रीको शपथ लिए पनि मन्त्रालय तोकिएको थिएन ।

नयाँ गठबन्धन बन्दा चार दल रहेकामा बुधबार एकीकृत समाजवादी पनि सहभागी भएपछि सरकार सुविधाजनक बहुमतमा पुगेको छ ।

एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० सांसद छन । चार दलको सांसद संख्या १४१ पुग्छ । बहुमतका लागि १३८ सांसद चाहिन्छ । जसपा थपिए सत्ता गठबन्धनसँग १५३ सांसद हुनेछन ।

बिस्तारसँगै २० सदस्यीय मन्त्रिपरिषदमा तीन जना नयाँ अनुहार आएका छन भने बाँकी यसअघि पनि मन्त्री–उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ब्यक्ति छन ।

मन्त्रिपरिषदमा दलित समुदायको भने प्रतिनिधित्व नै गराइएको छैन । सरकारमा प्रधानमन्त्री दाहालले मन्त्रालय बाँडफाँट गर्दा आफ्नो पार्टीको एकल बहुमत आएजसरी मन्त्रालय राख्नुभएको छ ।

कांग्रेससँग गठबन्धन तोडेर आएको नमाने उतै फर्कन्छु भन्दै प्रधानमन्त्री दाहालले अर्थ, परराष्ट्र्, सञ्चार, उर्जा र पर्यटन जस्ता आकर्षक र जनतासँग प्रत्यक्ष जोडिएका सवै मन्त्रालय राख्नुभएको छ ।

गठबन्धनको तेस्रो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृहसहित माओवादीपछिको आकर्षक मन्त्रालय पाएको छ । उस्ले गृह, शिक्षा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।

यस्तै चौथो दल नेकपा एकीकृत समाजवादीले १० सांसद भएपनि २ वटा महत्वपूर्ण मन्त्रालय पाएको छ । प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीलाई संघीय मामिला तथा सामान्य प्रशासन र शहरी बिकाश मन्त्रालय दिनुभएको छ ।

यता तीनवटै दल जोडदा पनि बरावरी हैसियतमा नपुग्ने गठबन्धनको सवैभन्दा ठूलो दल नेकपा एमालेले भने सवैले छाडेको अनि प्रधानमन्त्री र गठबन्धन दलको निगाहमा प्राप्त रहलपहल अर्थात कोल चाटेर चित्त बुझाएको छ । अर्थात कुल १४१ संख्यामध्ये एक्लै ७८ जना सांसद रहेको एमालेले केवल ६३ जना सांसद रहेको माओवादी, रास्वपा र नेकपा एसले छाडेको र जनतासँग प्रत्यक्ष सरोकार नराख्ने मन्त्रालय पाएको छैन ।

एमालेबाट सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित पार्टीबाट नेतृत्व गर्नुभएको छ ।

गठबन्धनका तीन दलले छाडेको मन्त्रालयमा चित्त बुझाएर अपमानित हुनुपरेको कारण चुनाव जितेका पदाधिकारीमध्ये उपाध्यक्ष बिष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ दुवै जनाले सरकारमा जान अस्वीकार गरेपछि सचिव महासेठलाई फेरि अवसर दिइएको हो ।

यस्तै भगवती चौधरी महिला, बालबालिका तथा समाजकल्याण, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षी, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती, रक्षा, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग र बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारीमन्त्री बन्नुभएको छ ।

मन्त्री बनेकामध्ये कपिलवस्तुबाट निर्वाचित अधिकारी मात्रै पहिलो पटक मन्त्री हुनुभएको हो । अन्य मन्त्री यसअघि २०७९ पुस १० गते बनेको गठबन्धनअनुसार उपाध्यक्ष बिष्णु पौडेलको नेतृत्वमा दाहाल नेतृत्वको सरकारमा सहभागी भए पनि प्रधानमन्त्री दाहालले गठबन्धन फेरेपछि छोटो समयमै सरकारबाट बाहिरिनु परेको थियो । कानूनमन्त्री गिरी ०७४ र ०७९ मा लगातार पर्वतबाट निर्वाचित सांसद हुनुहुन्छ ।

पछिल्लो निर्वाचनपछि प्रचण्ड नेतृत्वकै सरकारमा उहाँ यसअघि करिब दुई महिना स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।

यस्तै बैतडीका उद्योगमन्त्री भण्डारी तेस्रोपटक मन्त्री बन्नुभएको हो । त्यस्तै, धनकुटाका राई, सुनसरीकी चौधरी, सर्लाहीका उप्रेती र बाराकी साह दोस्रो पटक मन्त्री बन्नुभएको हो ।

यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार र हितबहादुर तामाङ पर्यटनमन्त्री बन्नुभएको छ।

श्रेष्ठले यसअघि यही सरकारमा उप्रधानमन्त्रीसहित गृहमन्त्रालय सम्हाल्नुभएको थियो भने बस्नेत र शर्मा यिनै मन्त्रालयसहित मन्त्री हुनुहुन्थ्यो ।

माओवादीका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य श्रेष्ठ पाँचौँपटक मन्त्री बन्नुभएको हो । रोल्पाबाट निर्वाचित माओवादी उपमहासचिव अर्थमन्त्री पुन दोस्रोपटक अर्थमन्त्री बन्नुभएको हो । यस्तै ऊर्जामन्त्री बस्नेत जाजरकोटबाट निर्वाचित नेता हुनुहुन्छ ।

सञ्चारमन्त्री शर्मा एमाले महासचिव शंकर पोखरेललाई पराजीत गरी बिजयी हुनुभएकी दाङकी माओवादी नेतृ तथा सांसद हुनुहुन्छ । यस्तै पर्यटनमन्त्री तामाङ दोस्रो पटक मन्त्री हुनुभएको हो ।

रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान एवं गृहमा दोहोरिनु भएको हो । यस्तै उपसभापति डिपी अर्याल श्रम, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्नुभएको छ ।

लामिछाने अघिल्लो वर्ष ४२ दिन उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय सम्हाल्नुभएको थियो भने उपसभापति अर्यालले यसअघि यही मन्त्रालय सम्हालिसक्नु भएको छ ।

सुमना र विराजभक्त पहिलो पटक मन्त्री बन्नुभएको हो । एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला र धनबहादुर बुढा सहरी विकासमन्त्री बन्नुभएको छ । उहाँहरू दुवै दोस्रोपटक मन्त्री बन्नुभएको हो ।