जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १३:३७

सडनडेथमा नेपाल पुलिस क्लबलाई उपाधि


झापा, बैशाख २२

काँकडभिट्टामा आयोजना भएको मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । आज अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै नेपाल पुलिस क्लब विजेता बनेको हो । विजेता पुलिस क्लबले रु। १० लाख एक हजार नगद, ट्रफी, मेडल सहित प्रमाणपत्र पाएको छ भने, उपविजेता त्रिभुवन आर्मीले रु. पाँच लाख एक हजार नगद पुरस्कार पाएको छ ।

निर्धारित ९० मिनेटभर दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरमा खेलाइएको थियो । तर टाइब्रेकरमा समेत ३–३ गोल बराबर भएकाले सडनडेथबाट खेलको निर्णय गरिएको थियो । सडनडेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक विकेस कुथुलाई ठोक्किँदै जाली चुमेको थियो । परियारको निर्णायक गोलको मद्दतले पुलिसले उपाधि हात पारेको हो ।

बेस्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधि पाएका पुलिस क्लबका रवि पासवानले रु। एक लाख एक हजार पुरस्कार पाएको छ । वैशाख १२ गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजकसहित पुलिस, आर्मी, सङ्कटा, च्यासल, सुनसरी ११, माइभ्याली क्लब इलाम, पारो एफसी भूटान, क्यामरुनको दाउफिन्स एफसी र रुस्लान थ्री स्टार क्लबले प्रतिष्पर्धा गरेका थिए ।