जनता टाइम्स

२५ फाल्गुन २०८०, शुक्रबार १९:१३

गृहमा रबि आएपछिको पहिलो काम : थपिदिए २६७४ शहीदको संख्या, दोस्रो पटकमा पुर्याए १११४१ (सूचीसहित)


काठमाडौं, फागुन २५ । सरकारले २६ सय ७४ जनालाई शहीदको सूचीमा सूचीकृत गरेको छ । सरकारले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना शहीदको नाम राजपत्रमा प्रकाशित गरेको हो ।

विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने उनीहरुलाई सम्मान स्वरुप गत पुष २४ गते बसेको मन्त्रिपरिषद बैठकले शहीद घोषणा गरेको थियो । मन्त्रिपरिषद बैठकको सो निर्णयअनुसार दुई महिनापछि उक्त नामावलीलाई आज गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय सम्हालेलगत्तै आज सो नाम राजपत्रमा प्रकाशित भएको छ । लामिछानेले बुधवार साँझ मात्रै उपप्रधान तथा गृहमन्त्रीका रुपमा पदबहाली गर्नुभएको थियो । नेपाली कांग्रेस सरकारमा रहेको बेला गरेको सो निर्णयलाई गृहमन्त्री लामिछानेले फास्टट्याकबाट राजपत्रमा सूचना प्रकाशित गरी २६ सय ७४ जना नयाँ शहीद थप्नुभएको छ ।

आज प्रकाशित नामावली अनुसार सबैभन्दा बढी कालिकोटमा २७१ जना र दोस्रोमा रोल्पामा ३६९ शहीद रहेका छन् भने सबैभन्दा कम संखुवासभा, लमजुङ, उदयपुर र रसुवामा एक–एक जना मात्रै शहीद रहेका छन् । नेपाली सेनाका तीन जना, सशस्त्र प्रहरी बल नेपालका एक जना पनि शहीदको सूचीमा समेटिएका छन् ।

यस अघि पनि नेकपा (माओवादी केन्द्र) कै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकै सरकारले एक वर्ष अघि गत फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा शहीद घोषणा भएका आठ हजार ४६७ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको थियो ।

दुई पटकमा गरेर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले ११ हजार १४१ जना विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदको नामावली राजपत्रमा प्रकाशित गरेको छ । दुवै पटक राजपत्रमा सूचना प्रकाशित गर्नेको सूचीमा भने रास्वपाका सभापतिसमेत रहनुभएका गृहमन्त्री रवि लामिछाने नै पर्नुभएको छ ।