जनता टाइम्स

२६ फाल्गुन २०८०, शनिबार १८:२२

‘यो तथ्यांक अवस्था परिवर्तन नभएर के हो त ?’


काठमाडौं, फागुन २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा ब्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भन्ने तर्कसँग सहमत हुन नसक्ने प्रष्ट पार्नुभएको छ ।

अधिकार प्राप्ती र महिला सहभागिताको सवालमा नेपालमा दुनियाँ नै चकित हुने गरी अवस्था परिवर्तन भएको तथ्य औल्याउँदै एमाले अध्यक्ष ओलीले अवस्था परिवर्तन भएन भन्ने भनाई प्रतिगामी सोचको उपज रहेको प्रष्ट पार्नुभयो ।

‘मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरा सही होइन, त्यो नाराभित्र प्रतिगामी षडयन्त्र लुकेको छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले भन्नुभयो । केही समयदेखि राजतन्त्रको वकालत गर्दै आइरहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेको बताएको छ । राप्रपाले यो नारा दिइरुहेको बेला एमाले अध्यक्ष ओलीले काउन्टर दिँदै अवस्थामा समेत ठूलो परिवर्तन आएको तथ्य राख्नुभएको हो ।

‘अहिले नेपालमा ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेका छन । यो तथ्यांक अवस्था परिवर्तन नभएर के हो ? विगतमा त्यस्तो थियो ? ’ मोतीदेवी स्मृति केन्द्रले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीको प्रश्न थियो । संबिधानमै ब्यवस्था गरेर ३३ प्रतिशत महिला संसद र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेश गर्दै अध्यक्ष ओलीले अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको बताउनु भयो ।

‘अहिलेको अवस्थालाई बिगतको तुलना गर्न मिल्दैन । विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको छ, सवै क्षेत्रमा प्रगति भएको छ,’ ओलीले थप्नुभयो । उहाँले जनताको अवस्थालाई पूर्ण रूपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने यथार्थलाई भने सवैल मनन गर्नुपर्ने भन्दै त्यो जिम्मेवारी पनि आफूहरूको काँधमा नै रहेको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले महिलालाई सशक्तीकरणको बाटोबाट पुरुषसरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी दृढताका साथ लागिपरेको जानकारी पनि गराउन भएको थियो ।