काठमाडौं, फागुन २७ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दलबसहित भेटेरै धोकाको बदला लिने छाडने धम्की दिनुभएको छ । राष्टियसभामा कांग्रेस संसदीय दलको नेता चयन भएलगत्तै सिटौलाले आज प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर यस्तो धम्की दिनुभएको हो ।
‘तपाईंले मलाई राष्ट्रिय सभा अध्यक्ष बनाउँछु भन्ने बचन दिएकोले म चुनाव लडेर जितेर पनि आएँ, तर तपाईले हाकाहाकी धोका दिने काम गर्नुभयो,’ प्रधानमन्त्री दाहालसँगको भेटमा सिटौलाको भनाई उधृत गर्दै सहभागी एक नेताले जनताटाइम्स डटकमसँग भने । ती नेताका अनुसार सिटौला प्रधानमन्त्री दाहालसँग निकै झोक्किएर आक्रोश पोख्नुभएको थियो । आफूले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा पार्टीभित्रबाटै ठूलो संघर्ष गर्नुपरेको स्मरण गर्दै सिटौलाले अमृतको बदला बिष दिएको भन्दै आक्रोश पोख्नुभएको हो ।
‘तपाईंले कांग्रेस पार्टीलाई त धोका दिनुभयो नै, व्यक्तिगत रूपमा ममाथि पनि गम्भीर ढंगको धोकाधडी भयो, हामीले पिलाएको अमृतको बदलामा झुक्याएर बिष पिलाइदिनु भयो ।’ ती नेताले जनताटाइम्सलाई दिएको जानकारी अनुसार यसो भनिरहँदा सिटौलाको अनुहारमा निकै आक्रोश थियो भने दाहालको अनुहार निकै मलिन देखिएको थियो । आफै राष्ट्रिय सभा अध्यक्षको उम्मेदवा बन्ने दौडमा रहनुभएका सिटौला माओवादी सत्ता गठबन्धनबाट अलत भएर आफ्नै उम्मेदवार दिने निर्णयमा पुगेपछि संसदीय दलको नेतामा चित्त बुझाउनु भएको थियो ।
आजको भेटमा सिटौलासहित, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुभएको थियो । फागुन २९ गते मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि चुनाव तोकिएको छ भने सोमबार मनोनयन दर्ताको कार्यक्रम रहेको छ । मनोनयन दर्ताको पूर्वसन्ध्यामा कांग्रेसका नेताहरूले प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन । कोशीबाट गत माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचित भएका सिटौलालाई कांग्रेसले शनिबार राष्ट्रिय सभा दलको नेता चयन गरेको थियो । दल नेता चयन भएपछि सिटौला पार्टीका नेताहरू थापा र लेखकलाई लिएर आज बिहान बालुवाटार पुग्नुभएको हो । पुगेका हुन ।
आजको भेटमा सिटौलाले कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने प्रतिवद्धता तोडेर धोका दिएको घटनादेखि शान्ति प्रक्रियाका विभिन्न विषयमा भनाई राख्नुभएको थियो । सो क्रममा सिटौलाले आफूले जानकारी माग्दासमेत झुट बोलेर गठबन्धनबाट बाहिर गएको भन्दै बिश्वास गर्न लायक नै नरहेको मान्छे भन्ने शब्द प्रयोग गर्नुभएको ती नेताले बताए ।
सिटौलाले गठबन्धन तोडिनुभन्दा यही फागुन १७ गते भएको भेटको प्रसंग निकालेर घटना सुनाउनु भएको हो । ‘राष्ट्रिय सभा अध्यक्ष माओवादीले नै राख्ने हल्ला छ के हो भन्दा तपाईंले होइन भन्नुभयो । तपाईंलाई नै कोसिस गर्दैछु भन्नुभएको थियो, तर दुई दिनपछि गठबन्धन नै फेर्नुभयो, मलाई हाकाहाकी ढाटनुभयो,’ सिटौलाले भन्नुभयो, ‘फागुन २० मा हामी फेरि भेट्ने कुरा थियो, तर गठबन्धन नै भत्काउनु भयो ।’
प्रधानमन्त्री दाहालले भने ‘तपाईलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन म सकारात्मक भए पनि पार्टीका साथीहरू मानेनन’ भन्ने जवाफ दिनुभएको छ । ‘तपाईंलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन म त सकारात्मक थिएँ नि, साथीहरूले मान्दै मानेनन, के गर्ने ?,’ सिटौलालाई प्रधानमन्त्री दाहालको जवाफ थियो । प्रधानमन्त्री जवाफ सुनेपछि सिटौला झनै आक्रामक बन्नुभएको थियो । कांग्रेसकै कारण गठबन्धन तोडनु परेको जिकिर प्रधानमन्त्रीले गरेपछि सिटौलाले ‘बदमासी आफू गर्ने दोष अरुमाथि थोपर्ने ?’ भन्दै आक्रोश पोख्नुभएको हो ।
सिटौलाले अवको बाटो सहज नभएको र कांग्रेसले यो धोकालाई सहज रुपमा नलिएको भन्दै जस्ताको तस्तै जवाफ दिने चेतावनी पनि दिनुभएको छ । ‘मलाई र कांग्रेसलाई नै तपाईंले धोका दिनुभयो, अब सजिलो गरी चल्छ भन्ने नसोच्नु होला,’ प्रधानमन्त्री दाहाललाई सिटौलाको भनाई थियो । कांग्रेस नेतृत्वको गठबन्धन तोडेर बनेको नयाँ सत्ता गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष नेकपा एमालेले लिने सहमति भइसकेको छ । राष्ट्रिय सभामा १७ सांसदसहित नेकपा (माओवादी केन्द्र सबैभन्दा ठूलो दलका रुपमा रहेको छ ।
यस्तै कांग्रेसका १६, एमालेका १०, नेकपा एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद रहेका छन । यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त रहेको छ ।
प्रतिक्रिया दिनुहोस्