जनता टाइम्स

२८ फाल्गुन २०८०, सोमबार १३:४२

प्रवासी नेपाली मञ्च दुबईको अध्यक्षमा मीन नेपाली चयन, यस्तो बन्यो नयाँ कार्यसमिति चयन


दुबई, फागुन २८ । प्रवासी नेपाली मञ्च दुबई राज्य कमिटीको अध्यक्षमा मीन नेपाली सर्वसम्मत चयन हुनुभएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा यही मार्च ९ गते सम्पन्न अधिवेशनले नेपालीको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा डम्बर लिम्बू, सचिवमा सुर्यमान राई, उपसचिवमा हुमराज बिक र तारा रासकोटीलाई चयन गरेको छ । यसैगरी अधिवेशनबाट एलपी ढकाल, सुबास न्यौपाने, शन्तोस अधिकारी, जीवन कुँवर, अस्मिता खराल र अमित महत सदस्यमा चयन हुनुभएको छ ।

अधिवेशनको उदघाटन समारोहमा आफ्नो धारणा राख्दै प्रमुख अतिथी थापाले बिदेशमा आएर पनि एकआपसमा झगडा गरेर आफ्नै जीवन बर्वाद पार्ने काममा कोही पनि प्रवासी लाग्न नहुने भन्दै आफ्नो भविश्य र नेपाल बनाउन सक्ने भिजन बोकेको पार्टीलाई पक्षमा उभिनुपर्ने तथ्य औल्याउनु भयो । ‘बिदेशमा हामी राजनितिक झगडा गरेर बस्नु बेकार हो । बिदेशमा त मात्र श्रमिकको हितमा काम गर्ने हो । हामी आफै समृद्ध बनेर मात्रै समृद्ध नेपाल निर्माणमा सधाउ पुर्याउन सक्छौं भन्ने कुरालाई सवैले मनमा राखेर काम गरौं, अध्यक्ष थापाले भन्नुभयो ।

अध्यक्ष थापाले संगठनभित्र अव अराजकतालाई छुट नहुने भन्दै सवैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बटमलाइन समेत सुनाउनु भएको छ । ‘अव पनि मैले जे गरेपनि हुन्छ, काम नगर्दा पनि हुन्छ, मन लागेको जे गर्दा पनि हुन्छ भन्ने सोच छ भने सवैले त्याग्नोस, प्रवासी नेपाली मञ्चमा अव अराजकतालाई छुट छैन, निर्ममतापुर्वक कार्वाही हुन्छ, काम गर्नेलाई पुरस्कृत गरिन्छ, अध्यक्ष थापाको भनाई थियो ।

अधिवेशनमा बिशेष अतिथी प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा मध्यपूर्व इञ्चार्ज कमलमणि गुरागाईं, प्रवासी नेपाली मञ्च मध्यपूर्व महादेश कमिटीका संयोजक शालिकराम पन्त, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सल्लाहकार प्रकाश कोइराला र प्रवासी नेपाली मध्यपूर्व कमिटीका सल्लाहकार संयोजक श्याम पाठक र प्रवासी नेपाली मञ्च युएई राष्ट्रिय कमिटीका कार्यबहाक अध्यक्ष बाबुराम सापकोटालगायतका बक्ताहरुले मञ्चले आजको दिनमा निर्वाह गर्नुपर्ने भूमिकाबारे आफ्नो धारणा राख्नुभएको थियो ।

बक्ताहरुले संगठनभित्र कामचोर प्रबृत्तिलाई अव निर्ममताका साथ अन्त्य गर्ने अभियान थालिएको भन्दै सवैले इमानका साथ काम गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो । अधिवेशन सम्पन्न भएसँगै दुवइमा देखिएको केही समयदेखिको बिवादसमेत समाधान भएको छ ।