काठमाडौं, फागुन २९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बर्तमान सत्ता गठबन्धनमा रहिरहन आफूलाई पनि प्रधानमन्त्री चाहिने सर्त राख्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि औपचारिक प्रस्ताव गरिसकेको उल्लेख गरी अध्यक्ष नेपालले यता कुरा मिले उता (कांग्रेस) तिर नजाने भन्दै प्रधानमन्त्री चाहिने अडान राख्नुभएको हो ।
नेकपा एसका अध्यक्ष माधवलाई मनाउन आज संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठक गर्नुभएको हो । तीन नेताको बैठकमा माधवले ‘मलाई पनि हाताहाती प्रधानमन्त्री हुने सहमति चाहिन्छ’ भन्दै सर्त राख्नुभएको हो ।
नेकपा एकीकृत समाजवादीले सोमवार पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत र राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी उम्मेदवारलाई मत दिने चेतावनी दिएको थियो । नेकपा एसको सो चेतावनीपछि सत्ता साझेदार तीन दलका शीर्ष नेताबिच आज भेटवार्ता भएको हो ।
एकीकृत समाजवादीको हिजो सोमबार बसेको संसदीय दलको बैठकले मागबारे सहमति गर्न आज ११ बजेसम्मको अल्टिमेटम दिएको थियो । आज ११ बजेबाट राष्ट्रिय सभा अध्यक्षका लागि मतदान सुरु हुँदैछ । प्रधानमन्त्री दाहालले गत २३ गते मन्त्रिमण्डल विस्तार गर्दा अन्तिम समयमा मात्रै नेकपा एकीकृत समाजवादीका मन्त्री समेटिएको थियो ।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्नुभएका प्रधानमन्त्री दाहालले गठबन्धन फेर्नुअघि आफूलाई थाहा नै नदिएको भन्दै नेपालले असुन्तुष्टि जनाइसक्नु भएको छ । नेपालले अघिल्लो गठबन्धनमा एक वर्ष प्रधानमन्त्री पाउने सहमति समेत अलपत्र परेको र र अहिले देउवाबाट खुल्ला अफर आएको भन्दै प्रधानमन्त्री हुने कुरालाई बटमलाइन बनाउनु भएको छ ।
नेपालले यो गठबन्धनमा पनि फेरि सोही अनुसार प्रधानमन्त्री खोज्नुभएको छ । तर एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आगामी चार वर्ष आलोपालो दुई वर्षका दरले प्रधानमन्त्री हुने सहमति भएकाले अध्यक्ष नेपाल बिच्किनु भएको छ । उहाँले आजको छलफलमा ‘३२ सिटेचाँहि माओवादी पटक-पटक प्रधानमन्त्री हुन हुने, १० सिटेचाँहि किन नहुने ? यता म प्रधानमन्त्री हुने कुरा नमिल्ने भए उतै जान्छु’ भन्दै प्रधानमन्त्री दाहाललाइ धम्क्याउनु भएको छ । माओवादीको यो संसदमा ३२ सिट रहेको छ भने नेकपा एसको १० सिट रहेको छ ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले ‘तपाई हामीले पनि सम्मान गर्ने नेता हो, तपाईलाई अपमान गर्ने कल्पना पनि गर्न सक्दैनौं, एकसाथ अघि बढनुपर्छ, जावो प्रधानमन्त्रीका के कुरा भन्दै सम्झाउनु भएपछि नेपालले ‘त्यस्तो हो भने लु ठीक छ, एकसाथ अघि बढौं’ भन्दै सहमति जनाउनु भएको स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस्