जनता टाइम्स

२९ फाल्गुन २०८०, मंगलवार १२:३५

क्रिकेटमा खुसीको खवर : हङकङमा जारी त्रिकोणात्मक सिरिजमा पिएनजीलाई पराजित गर्दै फाइनलमा पुग्यो नेपाल


काठमाडौं, फागुन २९ । हङकङमा जारी त्रिकोणात्मक सिरिजमा पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ । मंगलबार बिहान १९९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा ११३ रन बनाएर अलआउट भयो ।

पिएजीविरुद्ध नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट, प्रतिक जिसीले २ विकेट, गुलसन झा, आकाश चन्दले १/१ विकेट लिएका थिए । पिएनजीका लागि हिरी हिरीको २८ रन, सेसे बाउले २१ रन, टोनी उराले १३ रन र नोसेना पोकानाले १२ को योगदान गरे । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन ।

यस अगाडि पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकमा प्रहार गरेका थिए । नेपालका लागि भुर्तेलले ५९ रन, जोराले ५६ रन, बिनोद भण्डारीले २७ रन, गुलसन झाले १५ रन, लोकेश बमले १४ रन, विवेक यादवले १९ रनको योगदान गरे । गुलसन र विवेक अविजित रहँदा कप्तान रोहित पौडेलले १ रन र आरिफ शेखले ४ रनको मात्र योगदान गर्न सकेका थिए ।

पिएनजीका असाद भालाले २ विकेट र जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १/१ विकेट लिएका थिए । आइतबार बर्षाले खेल प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका थिए । हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा हङकङले ८ ओभरको समाप्तिमा २ विकेट गुमाएर ६५ रन बनाएपछि खेल प्रभावित भएको थियो ।

आजै पिएनजी र हङकङबीच पनि खेल हुनेछ । उक्त खेलमा विजेता टोली फाइनल प्रवेश गर्नेछ । फाइनल खेल बुधबार हुने कार्यतालिका रहेको क्रिकेट संघले जनाएको छ ।