जनता टाइम्स

२९ फाल्गुन २०८०, मंगलवार १७:१८

एमाले अध्यक्ष ओलीको निर्देशन : प्रधानमन्त्रीले सही कदम चाल्नुभएको छ, सरकारको आलोचना नगर्नू


काठमाडौं, फागुन २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आलोचना नगर्न  सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

आज बसेको संसदीय दलको बैठकमा दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले सरकारको आलोचना नगर्न पार्टीबाट निर्वाचित सांसदहरुलाई निर्देशन दिनुभएको हो । ‘प्रधानमन्त्रीले विगतमा नराम्रो काम गर्नुभयो भनेर हामीले सार्वजनिक रुपमै भनेका हौं, उहाँले बिगतमा नराम्रो काम गरेको भए पनि अनुचित गठबन्धन छाडेर सही कदम चाल्नुभएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

बैठकमा सम्बोधनको क्रममा उहाँले कुनै पनि कुरा र मनमा बगेको भावना प्याट्ट बोल्न नराम्रो हुने भएकाले त्यस्ता कुरा देखे आन्तरिक छलफलमा ल्याउन निर्देशन दिनुभयो ।

‘म साथीहरुलाई भन्छु, अव सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुपर्यो भने आन्तरिक रुपमा गर्दा हुन्छ,’ सांसदहरुलाई निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘नबुझिकन बोल्दा उल्टो हुन्छ, कहिले–कहिले देख्दा एउटा चिज देखिन्छ, तर अर्कै हुन्छ ।’

अध्यक्ष ओलीले बुधवार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेको भन्दै बिश्वासको मत दिन निर्देशन दिनुभयो ।