जनता टाइम्स

३० फाल्गुन २०८०, बुधबार ०५:३५

बार्सिलोनामा जुटे युरोपका प्रवासी नेपाली नेता, एमाले नेता भट्टराई र अध्यक्ष थापाले खोले नयाँ गठबन्धनको खास बिशेषता


बार्सिलोना (स्पेन) फागुन ३० । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बिदेश बिभाग प्रमुख डा. राजन भट्टराईले मुलुक निर्माणको काम अघि बढाउने लक्ष्यका साथ सत्ता गठबन्धनमा परिवर्तन भएको प्रष्ट पार्नुभएको छ ।

स्पेनको बार्सिलोनामा आयोजना भएको पार्टी निकट प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीको प्रथम भौतिक बैठकलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै मञ्चका इञ्चार्जसमेत रहनुभएका नेता भट्टराईले यस्तो जानकारी दिनुभएको हो ।

एमालेकै योजनामा यो गठबन्धन बनेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुरानो गठबन्धन छाडेर आफ्नो गलत कदम सच्याएको भन्दै नेता भट्टराईले बर्तमान सरकार सफल बनाउन स्वदेशदेखि बिदेशसम्म रहेका सवै नेपाली एकजुट बनेर लाग्नुपर्ने तथ्यसमेत राख्नुभयो ।

‘समृद्ध नेपाल निर्माण गर्ने नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको हुटहुटीकै कारण नेपाली कांग्रेस नेतृत्वको अनुचित र भ्रष्ट गठबन्धन फालेर नेकपा एमाले नेतृत्वको नयाँ गठबन्धन निर्माण भएको छ । यो गठबन्धनको योजनाकार र नेतृत्वकर्ता दुवै एमाले नै हो,’ प्रवासी नेपाली मञ्चका सवै नेताहरुलाई नयाँ गठबन्धनबारे प्रष्ट पार्दै इञ्चार्ज भट्टराईले भन्नुभयो, ‘हाम्रै योजनामा यो गठबन्धन बनेको हुनाले हामी सवै यो सरकार सफल बनाउन लाग्नुपर्छ ।’

उहाँले सरकारको बिषयमा पार्टी पङ्तीमा भ्रम रहन नहुने पनि बताउनु भयो । ‘नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री को बन्यो ?, मन्त्रालय के–के पाइयो ? हामीले खोजेको मन्त्रालय किन पाइएन ? गृह, अर्थ, परराष्ट्र, श्रम मन्त्रालय हाम्रो भागमा किन परेन भनेर आफै मरिच चाहुरिए जसरी भ्रममा पर्ने वा असन्तुष्ट हुने होइन, गठबन्धनको नेतृत्वकर्ता एमाले नै भएकोले यो सरकारलाई हरतरहले सफल पार्न हामी दृढसंकल्पका साथ लाग्नुपर्छ । यही नै पार्टीको प्रष्ट लाइन हो ।’ भट्टराईले अहिलेको गठबन्धन मुलुकको आवश्यकता र देश बिगार्न नदिनका लागि गरिएको कोर्श करेक्शन भएको पनि प्रष्ट पार्नुभयो ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले एमाले अध्यक्ष केपी ओलीकै योजनामा नयाँ गठबन्धन निर्माण भएकोले स्वदेश तथा बिदेशमा रहेका सवै नेपालीको हितमा काम हुने अपेक्षा पलाएको बताउनु भयो । उहाँले प्रवासमा रह गठबन्धनप्रति भ्रममा पर्न नहुनेमा जोड दिँदै गत निर्वाचनमा नयाँ पार्टी भन्दै परिवारलाई फोन गरेर भोट हाल्न दिइएको दवाव जस्तो गल्ती अव कसैले दोहोर्याउन नहुनेमा जोड दिनुभयो ।

‘प्रवासी नेपाली मञ्च समृद्ध नेपाल : सुखी नेपाली निर्माणको अभियानमा सघाउन जुटेको छ । यस्को परिकल्पनाकार केपी ओली भएकोले केही समय अर्काे गठबन्धनले अवरोध गर्न खोज्यो, अव फेरि नयाँ गठबन्धन बनेको छ, यो गठबन्धनको नेता पनि एमाले र केपी ओली नै भएकोले पूरा हुनेमा कुनै शंका छैन,’ बैठकमा बिशेष अतिथीकोरुपमा सम्बोधन गर्दै अध्यक्ष थापाले भन्नुभयो ।

उहाँले प्रवासी नेपाली मञ्च प्रवासमा रहेका सवै नेपालीबीच पुगेर मातृभूमि नेपालमा स्थिरताको पक्षमा भूमिका खेल्नुपर्ने भन्दै सोहीअनुसार काम अघि बढाउन युरोप महादेशका सवै नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । मलेसिया बैठकपछि मञ्च संगठन बिस्तार र मातृपार्टी एमालेप्रति रहेको भ्रम चिर्ने अभियानमा रहेको भन्दै अध्यक्ष थापाले अव मा रहेका सवैलाहरेक नेता कार्यकर्ताले यो अभियानमा आफूलाई खरो रुपमा उतार्न जरुरी रहेको बताउनु भयो ।

बैठकमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव एवं संगठन बिभाग प्रमुख हेम शेर्पाले संगठन सुदृढीकरण र बिस्तार सम्बन्धी निर्देशनसहित प्रशिक्षण दिनुभएको थियो । सचिव शेर्पाले मलेसिया बैठकले संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको भन्दै अव काम गर्ने र नगर्नेबीच संगठनभित्र समान ब्यवहार नहुने भन्दै कामका आधारमा अव अघि बढनुपर्नेमाजोड दिनुभएको थियो ।

युरोप महादेश कमिटीका संयोजक मुक्त गुरुङको अध्यक्षता र सचिव शालिकराम थपलियाले सञ्चालन गर्नुभएको बैठकमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव तथा संगठन विभाग उपप्रमुख कर्ण शाही, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा युरोप इञ्चार्ज भक्त वाग्ले, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद उपाध्यक्ष रामशरण सिंखडा, पूर्वउपाध्यक्ष अर्जुन श्रेष्ठलगायतका बक्ताहरुले मातृभूमिको आवश्यकता र प्रवासबाट खेल्नुपर्ने भूमिकाको बिषयमा आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा युरोप महादेशका १७ देशबाट १२१ जनाको सहभागिता रहेको थियो ।