जनता टाइम्स

३० फाल्गुन २०८०, बुधबार २०:३८

एन्फा उपाध्यक्षसहित १० पदाधिकारीलाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन


काठमाडौं, फागुन ३०। युवा तथा खेलकुद मन्त्रालयले विश्वकप फुटबल छनोटको तयारी स्वरुप मलेसियासँग मैत्रीपूर्ण खेलको लागि प्रस्थान गरेको टोलीमा एन्फा उपाध्यक्षसहित १० जना गएको भन्दै खेलकुद मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको छ ।

आज राष्ट्रिय टीमसँग मलेसिया गएको नेपाली टोलीमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका मलेसिया उडेका थिए । एन्फाको टोलीमा उपाध्यक्ष दीपक खतिवडा, एन्फाका केन्द्रीय सदस्य महेन्द्र क्षेत्री, सीईओ इन्द्रमान तुलाधर एन्फाका जिल्ला सदस्यहरू सुनील लोप्चन, बुद्धिबहादुर गुरुङ, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ र भरत घिमिरे अफिसियलको रुपमा र ज्ञानबहादुर राईलाई किट व्यवस्थापको रुपमा मलेसिया जानुभएको थियो ।

सो बिषयमा मन्त्रालयले कारबाहीको लागि निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले प्रेस विज्ञप्ति जारी गर्दै अनावश्यक रुपमा गएका अफिसियल तथा एन्फा पदाधिकारीसहित सदस्यलाई कारबाहीको निर्देशन दिएका छन् ।

‘अखिल नेपाल फुटबल संघबाट सहभागी हुनको लागि खेलमा संलग्न समूहबाहेक १० जना अनावश्यक व्यक्तिहरुसमेत सहभागीका रुपमा जान लागेको र दशरथ रंगशालामा गैरफुटबल गतिविधि संचालनको लागि एन्फाले राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरेको भनि विभिन्न मिडियाबाट प्रेसित समाचार प्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता रेग्मीको अनुसार राष्ट्रिय खेलकुद विकास ऐनअनुसार राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिई अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । तर १० जनाका लगि स्वीकृति नलिएको जानकारी प्राप्त भएको कारण उनीहरुलाई कारबाहीको निर्देशन गरिएको हो । मलेसिया गएका १० जनालाई कानूनबमोजिम कारबाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्लाई मन्त्रालयले निर्देशन समेत दिइएको विज्ञप्तिमा उल्लेख छ ।

विश्वकप फुटबलको तयारी स्वरुप नेपाली फुटबल टिमले चैत्र २ गते मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको छ । प्रतियोगिताको लागि अनाधिकृत रुपमा १० जना एन्फा प्रतिनिधिहरु आज मलेसिया गएपछि मन्त्रालयले कारबाहीको निर्देशन दिएको हो । नेपालले विश्वकप तथा एसिया कप छनोट अन्र्तगत चैत ८ र १३ गते बहराईनसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।