जनता टाइम्स

३ चैत्र २०८०, शनिबार ११:३८

प्रवासी नेपाली मञ्च अष्ट्रियाको अन्तरक्रियामा राजन भट्टराईले प्रष्ट्याए नयाँ सत्ता गठबन्धनको औचित्य


भियना (अष्ट्रिया), चैत ३ । प्रवासी नेपाली मञ्च अष्ट्रियाले मातृभूमि नेपालको समृद्धि र परिवर्तित राजनीतिक घटनाक्रमको विषयमा बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रवास इञ्चार्ज डा. राजन भट्टराई र अन्तराष्टिर्य कमिटीका अध्यक्ष सञ्जय थापाको युरोप भ्रमणको अवसर पारेर प्रवासी नेपाली मञ्च अष्ट्रिया राष्ट्रिय कमिटीले नेपालको समसामयिक राजनीतिक बिषयमा प्रष्ट पार्न अन्तरक्रिया सम्पन्न गरेको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी भट्टराईले नेपालमा राजनीतिक स्थायित्व र देशलाई गति दिनका लागि नयाँ गठबन्धन बनेको र यसले देशको अर्थतन्त्र सुदृढ बनाउँदै विकास निर्माण कार्यलाई तीब्रता दिने बताउनु भयो । देशमा सुशासनको प्रत्याभूति दिलाउँदै जनतामा देखिएको निराशालाई चिरेर अग्रगमनको यात्रा तय गर्नका लागि यो सरकार निर्माण भएको भट्टराईले प्रष्ट पार्नुभयो ।

उहाँले देश बनाउने अठोटसहित अघि बढेको तथ्य राख्दै यो गठबन्धनको बिषयमा प्रवासबाट समेत सकारात्मक सन्देश प्रवाह गर्न अपिल गर्नुभयो । कार्यकर्मममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले प्रवासबाट अहिलेको सत्ता गठबन्धनाई सहयोग गर्दै समृद्धिको लक्ष्य हासिल गर्ने काममा लाग्नुपर्ने धारणा राख्नुभयो ।

मञ्चको विश्वव्यापी अभियान र यसको उद्देश्य तथा कार्यदिशाबारे जानकारी दिँदै अध्यक्ष थापाले छोटो समयमा राष्ट्रिय कमिटी अष्ट्रियाले गरेको कार्यक्रमहरुको प्रशंसा गर्दै आगामी दिनमा समेत दूतावास तथा अन्य संघ संस्थासँगको हातेमालोमा मञ्च अग्रणी समाजिक संस्थाका रुपमा स्थापित हुने बिश्वास ब्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा अष्ट्रियाको लागि नेपाली राजदुत भरत राज रेग्मीले आफ्नो कार्यकालमा नेपाली डायस्पोरा अष्ट्रियाबाट प्राप्त सहयोगबाट आफू अत्यन्त खुशी भएको र दूतावासबाट धेरै काम गर्ने प्रयास भइरहेको जानकारी गराउनु भयो । उहाँले विभिन्न संघ संस्थाहरुको सहभागीतामा र सुझावमै दूतावासले आफ्नो सीमा र कर्तव्य सम्झँदै नेपालीहरुको सहयोगको लागि सदैव प्रयत्नशिल रहने जानकारी पनि दिनुभयो ।

अन्तरक्रियामा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य तथा गैर आवासीय नेपाली संघ (एनआरएन) यूरोपका निवर्तमान संयोजक शन्तोष भट्टराई, एनआरएन अष्ट्रियाका पूर्वअध्यक्ष बिनोद चौलागाई, निवर्तमान यूरोप महिला उपसंयोजक निता सापकोटा, वरिष्ठ समाजसेवी राम बहादुर विश्वकर्मा तथा समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरुको बाक्लो उपस्थित थियो ।

प्रवासी नेपाली मञ्च अष्ट्रियाकी सचिव बाबा राजेश्वरी थापाको अध्यक्षतामा संचालित सो कार्यक्रमको सञ्चालन मञ्चका उपसचिव दिनेश बैदावर क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा सभाध्यक्ष थापाले अतिथिलाई पुष्पगुच्छाले स्वागत गर्दै मायाको चिनोसमेत प्रदान गर्नुभएको छ ।

सो क्रममा सभाध्यक्ष थापाले युरोप भ्रमणमा प्रवासी नेपाली मन्च, राष्ट्रिय कमिटी, अष्ट्रियालाई समेत विशेष महत्व दिई भियना आएर नेताहरुले हौसला प्रदान गरेको भन्दै आभार प्कट गर्नुभएको थियो ।