जनता टाइम्स

४ चैत्र २०८०, आईतवार १४:०६

एनआरएनएको नवीकरण रोकिदैँन, तत्काल प्रक्रिया अघि बढ्छ : परराष्ट्रमन्त्री श्रेष्ठ


काठमाडौं, ४ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली संघको रोकिएको नविकरण प्रक्रिया तत्काल टुँगो लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकारी निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसँगको भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न उत्साहित रहेको बताउँदै संघको रोकिएको नवीकरण तुरुन्तै गर्ने प्रतिबद्धता जनाउनुभयो ।

संघको गत अक्टोबरमा सम्पन्न निर्वाचनको छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाएलगत्तै डा। केसी र श्रेष्ठबीच छलफल भएको हो । संघका अध्यक्ष डा. केसीले मन्त्रीमण्डलको पुनर्गठनपछि गैरआवासीय नेपाली संघको निर्वाचित कार्यसमितिलाई सहज रुपमा काम गर्ने वातावरण बन्दै गएकोप्रति धन्यवाद समेत दिनुभयो । डा. केसीले गैरआवासीय नेपाली संघ सरकारको सहयात्रीको रुपमा काम गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा समेत सरकारलाई पूर्णरुपमा सहयोग गर्ने उल्लेख गर्नुभयो ।

संस्थाको विधि तथा विधानको अधिनमा रहेर संघभित्रको भातृत्व र एकतालाई कायम गर्न आफु पूर्णरुपमा प्रतिबद्ध रहेको अध्यक्ष डा. केसीले बताउनुभयो । जवाफमा परराष्ट्रमन्त्री श्रेष्ठले संघमा पछिल्लो समयमा देखिएका असन्तुष्टिहरुको बारेमा आफू पूर्णरुपमा जानकार रहेको बताउँदै सबैलाई अपनत्व हुने गरि अघि बढ्न आग्रह गर्नुभयो । संस्थाको निर्वाचन प्रकृयाका बारेमा असन्तुष्ट पक्षसँग छलफल गरेर अघि बढ्न सरकार सदैव तयार रहेको जानकारी मन्त्री श्रेष्ठले बताउनुभयो । यसअघि पनि अध्यक्ष डा. केसीले उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरि संघको समसामयिक गतिविधि र नवीकरणका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको थियो ।