जनता टाइम्स

५ चैत्र २०८०, सोमबार ०७:५६

ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी बनिन पलेशा


काठमाडौं, चैत ५ । पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बन्नुभएको छ । यसैवर्ष फ्रान्समा हुने पेरिस पारालिम्पिकका लागि आइतबार छनोट भएसँगै पलेशाले यो सफलता पाउनु भएको हो । पारातर्फ भने छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।

गत अक्टोबरमा चीनमा सम्पन्न चौथो पारा एसियन गेममा पलेशाले कांस्य पदक जित्नुभएको थियो । यो नेपाली पारा खेलकुदका लागि पहिलो सफलता थियो। आइतबार चीनकै ताइयाङमा सम्पन्न एसियाली छनोट प्रतियोगिताबाट पनि पलेशाले ऐतिहासिक सफलता दोहोर्याउनु भएको छ । पलेशाको दुवै ऐतिहासिक सफलता कविराज नेगी लामाको प्रशिक्षणमा प्राप्त भएको हो । के–४४ क्याटागोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जितेर पेरिस पारालिम्पिक यात्रा तय गर्नुभएको हो ।

छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तीनवटै खेलाडी तेक्वान्दोका हुन । यसअघि संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक र दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर खेल्नुभएको थियो । जुन सफलताको यात्रामा तेक्वान्दोकै खेलाडी जोडिएकी छन । संगीना र दीपक दुवैले आइतबार सामाजिक सन्जालमार्फत पलेशाले बधाई दिनुभएको छ ।

विश्वको ११औं वरीयता प्राप्त पलेशाले आइतबार फाइनलमा १४औं वरीयता प्राप्त इरानकी लेइला मिर्जाइलाई ५–४ ले हराउँदै स्वर्ण चुम्नुभएको हो । त्यसअघि पलेशाले सेमिफाइनलमा उज्बेकिस्तानकी करिमा मेलिकुजिएभालाई १८–२ ले हराउँदै फाइनल यात्रा तय गर्नुभएको थियो ।

पारा छनोटको प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारा ओलम्पिकलाई छनोट हुने प्रावधान छ । पलेशा गत टोकियो पारालिम्पिक २०२० मा कांस्य पदकनजिक पुगेर चुक्दा ओलम्पिकमा पदक जित्ने सपना अधुरै रहेको थियो। चीनकै सांघाईस्थित तोङ्जी विश्वविद्यालयमा आर्किटेक्चर अध्ययन गरिरहनु भएकी पलेशाले पनि आगामी पेरिस २०२४ मा स्वर्ण पदक ल्याउने आशा व्यक्त गर्नुभयो ।

‘देशका लागि यो सुखद क्षण हो। मेरो यात्रामा साथ दिने घरपरिवार, प्रशिक्षक र संघलाई धन्यवाद दिन चाहन्छु। म चीनमा नै अध्ययन गरिरहेकाले यो प्रतियोगिताको तयारी गर्न निकै सघंर्ष गर्नुपरेको थियो । यद्यपि, स्वर्ण जित्न सफल भएँ,’ पलेशाले भन्नुभयो । यस पटक त्यो अधुरो सपना पूरा गर्ने लक्ष्यमा पेरिसको तयारी गर्ने प्रशिक्षक कविराज नेगी लामाले बताउनु भयो ।

यो प्रतियोगिताका लागि पलेशा नेपालमा नै छनोट प्रतियोगिता खेलेर चीनको सांघाई जानुभएको थियो भने सांघाईबाटै छनोट खेल्न ताइयान पुुग्नुभएको थियो । यो छनोटमा नेपालबाट पलेशासहित तीन खेलाडीले चुनौती प्रस्तुत गर्नुभएको थियो तर, पुरुष ६३ केजीमुनि भरतसिंह महता र ५८ केजीमुनि अमिर ब्लोन पदकविहीन बन्नुपर्यो ।