जनता टाइम्स

८ आश्विन २०७६, बुधबार १३:४५

आँखा अस्पतालमा बिरामीको समस्याअनुसार उपचार सेवा


विराटनगर, असोज ८

विराटनगर आँखा अस्पतालले आठ वर्षको अवधिमा चार लाख ९८ हजार ७७० जनालाई बहिरङ्ग सेवा प्रदान गरेको जनाएको छ । तीमध्ये ७६ हजार ५२० जनालाई शल्यक्रिया सेवा प्रदान गरेको छ । अस्पतालले बिना सुई मोतियाविन्दुको शल्यक्रिया सेवा, पर्दासम्बन्धी सम्पूर्ण सेवा, जलविन्दु, scleral fixation शल्यक्रिया, occulopastic, A/B scan/ cct, Pascal laser, yag laser सेवा, बहिरङ्ग सेवा, २४ सै घण्टा आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी सेवा, चश्मा वितरण, निःशुल्क अन्तरङ्ग सेवा र निःशुल्क परामर्श सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये प्रायः जलविन्दुको समस्या भएर आउने गरेकाले मेडिकल रेटिन तथा जलविन्दुसम्बन्धी उपचार सेवा पनि विस्तार गरिएको छ । विश्वमा अन्धोपनको पहिलो कारण मोतियाविन्दु र दोस्रो कारण रेटिना पर्दासम्बन्धी समस्या भएका आँखाका बिरामी भएकोले नै रेटिना सेवा विस्तार गरेको अस्पतालका राजेश प्रसाईले बताउनुभयो ।

सरदर आठजना बिरामीमध्ये एक जना बिरामी उच्च रक्तचाप तथा मधुमेहबाट पीडित रहेको तथ्याङ्क छ । तीमध्ये ७० देखि ८० प्रतिशत मधुमेहका बिरामी भएको अस्पतालले बताएको छ । मधुमेह बिरामी हुने समस्यालाई निराकरण गर्न अस्पतालले सर्वसुलभ उपचार पद्धति शुरु गरेको छ । रेटिना बिरामीका लागि एएनटीआई लगाउने कार्य पनि थालिएको आँखाका चिकित्सक आदी खत्रीले जानकारी दिनुभयो ।

उच्च रक्तचाप र मधुमेहको खराबीले गर्दा पर्दामा हुने समस्या जस्तै आँखाको भित्री भागमा रगत जम्ने, पर्दा च्यातिने र अन्य आँखामा लाग्नसक्ने चोटका कारणले हुने आँखाको समस्यालाई पर्दामा शल्यक्रियामार्फत सेवा प्रदान गर्ने गरेको बताइएको छ । आँखा जस्तो महत्वपूर्ण अङ्गलाई सुरक्षित गर्न मानिसले खानपानमा विशेष ध्यान दिनुपर्ने र समस्या देखिने बित्तिकै आँखाको जाँच तुरुन्त गरिहाल्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।