जनता टाइम्स

६ चैत्र २०८०, मंगलवार १९:४७

शालिन पोखरेल आत्महत्या प्रकरण : धरौटीमा छुटे पक्राउ परेका तीनै जना अभियुक्त


चितवन, चैत ६। चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी १४ वर्षीया बालिका शालिन पोखरेल प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन् ।

शालिनको मृत्यु भएपछि पक्राउ परेका प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा अदालतको आदेशमा रिहा हुनुभएको हो ।चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले तीनै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतले प्रधानाध्यापक देवकोटालाई ३ लाख र सहप्रधानाध्यापक अधिकारी र होस्टल वार्डेन शर्मालाई जनही ५–५ लाख धरौटी बुझाउन आदेश दिएको थियो । अदालतको आदेशपछि उनीहरू धरौटी बुझाएर हिरासतमुक्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

शालिनको मृत्युपछि प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा शालिनले आत्महत्या गरेको पुष्टि भएको थियो । त्यसपछि पक्राउ परेका तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको थियो । अदालतलेपछि ठहर हुने गरी धरौटीमा रिहा गर्न आदेश दिएको हो ।