काठमाडौं, असोज ८ । महानगरीय अपराध महाशाखाको उत्कृष्ट एक्शनको कारण नेपाली बैंक ठुलो दुर्घटनाबाट जोगिएको छ । अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले आफूलाई आएको एउटा टेलिफोनको आधारमा अघि बढाउनु भएको एक्शनको कारण ५ अर्व भन्दा बढी लुटने ह्याकरको योजना बिफल बन्नुका साथै बैंकबाट पैसा निकाल्ने गिरोहको चुरोसम्म पुग्न सफल भएको हो ।
सोही एक्शनका आधारमा ७२ घन्टाभित्र पक्राउ परेका नेपालका विभिन्न बैंकहरुबाट पाँच अर्ब रुपैयाँ ह्याक गरी विदेश लैजाने योजना बनाएको गिरोहका नाइकेसहित १२ जनालाई आज सार्वजनिक गरिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने समूहका १२ जनालाई पक्राउ गरी ठुलो दुर्घटनाबाट मुलुकलाई जोगाएको हो । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाका अनुसार बिदसी र नेपाली दुवै संलग्न रहेको सो ह्याकर समूहले नेपालका बैंकबाट पाँच अर्ब रकम लुट्ने योजना बनाएका थिए ।
‘विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाहरुबाट पाँच अर्ब रुपैयाँभन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, यस्को बिस्तृत छानविन भइरहेको छ,’ अभियुक्त सार्वजनिक गर्दै एसएसपी थापाले भन्नुभयो । एसएसपी थापाका अनुसार नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, कैलाश विकाश बैंक, नबिल बैंक, पानस रेमिटलगायतका बैंक तथा वित्तीय संस्थाहरुबाट सिष्टम ह्याक गरी रकम निकाल्ने प्रयास सो सहुमले गरेको थियो । उहाँका अनुसार सो समुहले कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको खुलेको र अरु ह्याक भएको रकमबारे अनुसन्धान जारी रहेको छ । थापाका अनुसार आइतबारबाट रकम ह्याकविरुद्ध महाशाखाको बिशेष टोलीले अपरेसन सुरु गरेको थियो ।
एसएसपी थापाका अनुसार आइतबार दिउँसो तीन बजेतिर पानस रेमिट्यान्सबाट उहाँलाई फोन गरी सूचना दिएका थिए । ‘पानस रेमिटकै कर्मचारीले फोनमा एक जना रकम निकाल्ने व्यक्तिका बारेमा शंका लागेर हामीले राखेका छौं भने । त्यसपछि हाम्रो टोलीले ती व्यक्तिलाई नियन्त्रणमा लियो । ती व्यक्तिलाई सोधपुछ गर्दा सुरुमा ६० हजार झिकेका पत्ता लाग्यो,’ एसएसपी थापाले भन्नुभयो । उहाँका अनुसार ती ब्यक्तिसँगै उनकी दिदी, भाञ्जा र भाञ्जीले समेत ६०–६० हजार रकम झिकेका रहेछन् । सोही आधारमा प्रहरीले चारै जनालाई राति १० बजेसम्ममा नियन्त्रणमा लिन सफल भएपछि यो योजना खुलेको थियो ।
‘चारै जनाले नुवाकोट मेघाङ गाउँपालिका–४ का ४३ वर्षीय लवाङ तामाङको नाम लिएपछि हामी लवाङ नै योजनाकार हो कि भनेर खोज्न थाल्यौं । आइतबार राती एक बजे नै हामीले लवाङलाई बालाजु क्षेत्रबाट नियन्त्रणमा लियौं,’ एसएस्पी थापाले भन्नुभयो । उहाँका अनुसार त्यसबेलासम्म कृषि विकास बैंक ह्याक गरेर रकम झिकेको जानकारी प्रहरीलाई थिएन । थापाका अनुसार कृषि बिकाश बैंकको ह्याकबारे लवाङ आफैँले प्रहरीमा बताएको थियो । ‘यो ३१ लाख रुपैयाँ मैले कृषि विकास बैंकबाट झिकेको हो । त्यो रकम मैले पुष्पलाई राख्न दिएको छु,’ अभियुक्त लवाङको भनाई उधृत गर्दै थापाले भन्नुभयो ।
प्रहरीले उस्को बयानको आधारमा पुष्पलाई पनि नियन्यणमा लियो । कृषि विकास बैंकबाट कसले रकम पठायो भनेर सोधेपछि लवाङले आफूलाई काले भन्ने विदेशी नागरिकले पठाएको जानकारी दिए । अभियुक्तबाट ३१ लाख रकम बरामद भएपछि प्रहरी अनुसन्धान अर्कैतिर मोडियो । तत्कालै कृषि विकास बैंकलाई त्यो व्यक्तिको खातामा यति धेरै रकम कसरी आयो भन्ने जानकारी माग्यो । कृषि विकास बैंकले सुरुमा प्रहरीलाई जानकारी दिन नचाहेपछि भोलिपल्ट प्रहरी नै बैंक पुग्यो । बैंक अधिकारीहरुले हेरेपछि सो रकम ‘सौराहा’को युजर आइडीबाट लहानको कम्प्युटर प्रयोग गरेर र नुवाकोट शाखाबाट रकम पठाएको तथ्य खुल्यो ।
अनुसन्धान गर्दै जाँदा प्रहरीले ११ ठाउँमा रकम ट्रान्सफर भएको फेला पार्यो । अनि क्वीक एक्शन लिँदै रकम पठाएका सबै स्थानको पहिचान गरेर क्युआइसी मगाएर पक्राउ गर्ने योजना महाशाखाले बनायो । एसएसपी थापाका अनुसार त्यसबीचमा रकम पठाइएको सबै ठाउँमा प्रहरी टोली पुगिसकेको थियो । थापाका अनुसार १२ जना समात्न टोलीलाई ७२ घण्टा लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्