जनता टाइम्स

९ चैत्र २०८०, शुक्रबार २०:३८

दोस्रो रामेछाप कप फुटसललाई एमाले युवा नेता गौतमको आर्थिक सहयोग


काठमाडौं, ९ चैत । ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता–२०८०’ का लागि एमालेका युवा नेता एवम् समाजसेवी रत्न गौतमले ५० हजार सहयोग गर्नुभएको छ । रामेछाप–काठमाडौं पत्रकार समाजले शनिबार र आइतबार आयोजना गरेको प्रतियोगिताका लागि युवा व्यवसायी एवं एमालेका नेता गौतमले ५० हजार आर्थिक सहयोग गरेको समाजको उपाध्यक्ष यसिमा महतले बताउनुभयो ।

महतका अनुसार जिल्ला कमिटी सदस्य दीपेन्द्रकुमार कार्कीले ३० हजार आर्थिक सहयोग गर्नुभएको छ । रामेछापबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेशा, व्यवसायमा संलग्न तथा संघ–संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी आयोजित प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने छ । महतका अनुसार कपअन स्पोर्टस सेन्टर बालुवाखानी कपनमा हुने प्रतियोगितामा व्यक्तिगत एवं संस्थागत रुपमा रामेछाप जिल्लाबासीले सहभागिता जनाउँनुहुनेछ ।

प्रतियोगितामा ८ जनासम्म खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको जनाइएको छ । प्रतियोगितामा विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित शिल्ड पुरस्कार रहेको टिम दर्ता संयोजक एवं समाजका सदस्य घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘रामेछाप जिल्लाबाट काठमाडौं उत्पयकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।

यसपटक पुरस्कार राशी पनि दोब्बर बनाएका छौं ।’ पहिलो रामेछाप कप फुटसल प्रतियोगितामा लिखु भुजी युवा क्लब रामेछापलाई ट्राइब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै अनेरास्ववियुले उपाधि उचालेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा महाकाली युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै डाइनामिक युथ तेस्रो भएको थियो । जिल्लाका २७ टोली सहभागी भएको गत संस्करणमा विजेतालाई प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार राखिएको थियो ।