काठमाडौं, चैत १० । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठसहितका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । नाउपा अध्यक्ष श्रेष्ठ आफ्ना टीमका नेताहरुसहित आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नुभएको हो ।
भेटवार्ताको क्रममा प्रधानमन्त्री दाहालले नाउपालाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । जवाफमा अध्यक्ष श्रेष्ठले आफूहरु सरकारको समर्थक रहेकोले यस बिषयमा सोचिरहेको बताउनु भएको छ ।
छलफलमा सहभागी नाउपाका संस्थापक नेता एवं टीकापुरका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताउनु भयो । फागुन २१ गतेपछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको डंगौराले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालसँगको भेटबार्तामा नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको मेयर डंगौराले जानकारी दिनुभयो । यद्यपि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा पार्टीमा अझै छलफल गर्न बाँकी रहेको उहाँको भनाई छ ।
नाउपाका सरक्षक रेशमलाल चौधरी भने कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुनुपर्ने भन्दै पार्टीमा बितण्डा मच्चाइरहनु भएको छ । अध्यक्ष श्रेष्ठका पतिसमेत रहनुभएका रेशम कांग्रेसतिर लागेपनि रञ्जिता भने गुणको बदला गुन भन्दै फागुन २१ गते बनेको नेकपा एमाले नेतृत्वको गठबन्धनतिर उभिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्