काठमाडौं, चैत ११ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत चार प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई हटाएको छ ।
प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरद्वय सुरेश खत्री र रन्जित लामालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको छ । त्यस्तै वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ भने अर्का इन्स्पेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको छ ।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर राजु अधिकारीलाई सीआईबीमा लगिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर गजेन्द्र रावलको पनि सीआईबीमा काज सरुवा गरिएको छ । रावल अपराध अनुसन्धान र ‘टेक्निकल एनालाइसिस’मा अब्बल मानिनुहुन्छ ।
सुन तस्करी जाँचबुझ आयोगले गत चैत १ गते उपप्रधानमन्त्री एवम गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित एसपी सञ्जय सिंह थापा, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाहीका लागि सिफारिस गरेपछि सबैलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको थियो ।
एआइजी बज्रचार्यले तात्कालिन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा अनुसन्धानको साटो सुन तस्करीमा सघाउनेलाई बदनीयतपुर्वक सघाएपछि सवै कार्वाहीमा परेका हुन ।
त्यस्तै अनुसन्धानमा खटिएकालाई समेत अन्यत्र सरुवा गर्नुपर्ने भन्ने सिफारिस रहेकाले सोही अनुसार इन्स्पेक्टरहरूको पनि सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आचार्य अध्यक्ष रहेको आयोगले विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी र २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणको छानबिन गरेको थियो ।
जसमा अनुसन्धानमा खटिएका सीआईबीका प्रहरीको गम्भीर गल्ती भएको आयोगले प्रतिवेदनमा औंल्याएको थियो । सोही निश्कर्षका आधारमा प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा संलग्न रही आदेशपालक बनेर तस्कर जोगाउने काममा लागेकाहरुलाई पहिलो चरणको कार्वाही स्वरुप सरुवा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्