जनता टाइम्स

१२ चैत्र २०८०, सोमबार १६:३४

आयरल्यान्डमाथि नेपालको सानदार जित, गर्यो ६ विकेटले पराजीत


काठमाडौं, चैत १२ । पहिलो टी–२० खेलमा आयरल्यान्डको ’ए’ क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले सहज जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । आयरल्यान्ड दिएको १२२ रनको लक्ष्य १६.१ ओभरमा ४ विकेटको क्षतिमा नेपालले पूरा गरेको हो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेल नटआउट ३७ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन जोडे भने कुशलले ३२ बलमा ४ चौका र दीपेन्द्रले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे । यसअघि सन्दीप जोराले ३५ बलमा ३६ रनको योगदान गरे । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

चौथो ओभरमा भने नेपालले दुई विकेट गुमाएको थियो । दोस्रो बलमा आसिफ शेखलाई १० रन र चौथो बलमा रोहित पौडेललाई शून्यमा गुमाएको थियो । दुवैलाई आयरल्यान्डका ग्यारेथ डेलिनीले आउट गरेका थिए । आसिफ एलबिडब्लूको धरापमा पर्दा रोहित विकेट पछाडि समातिए । लगत्तै अर्को ओभरमा गुल्सन झा ४ रनमा आउट भए ।

यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्ड १२१ रनमा अलआउट भएको थियो । आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सबैभन्दा बढी ४६ रन जोडेका थिए । कुशल भुर्तेलको बलमा क्याच भएका उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । उनीबाहेक आयरल्यान्डका शीर्ष आठ मध्ये ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन ।

नेपालका करण केसीले आयरल्यान्डका ओपनर मार्क एडियरलाई दोस्रो बलमै बोल्ड गरेका थिए । यस्तै ललित राजवंशीले कोड कारमाइकललाई चौथो ओभरमा ८ रनमा एलबिडब्लूको धरापमा पारे। सातौं ओभरको दोस्रो बलमा गुल्सन झाले मोर्गन टपिङ शून्यमा बोल्ड गरे । कप्तान निल रकलाई गुल्सनले नै नवौं ओभरको पहिलो बलमा ५ रनमा कुशल मल्लबाट क्याच गराएका थिए ।

यस्तै ग्यारेथ डेलिनीलाई कुशल मल्लले ४ रनमा क्याच गराए । कुशल भुर्तेलले फिन ह्यान्डलाई ११ रनमा क्याच गराउँदा ललित राजवंशीले म्याकार्थीलाई १६ रनमा एलबिडब्लूको धरापमा पारेका थिए । यस्तै १९औं ओभरको अन्तिम बलमा थोमस मायज १६ रनमा रनआउट भए । अन्तिम बलमा म्याथ्यु हमफ्री ६ रनमा रनआउट भएका थिए ।

बलिङमा नेपालका ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले २–२ विकेट लिन सफल भएका छन । यस्तै करण केसी र कुशल मल्लले १–१ विकेट लिन सफल भए । नेपालले आइसिसी टी–२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो । दोस्रो खेल मंगलवार आयरल्यान्डसँग दोस्रो टी–२० खेलेपछि नेपाली टिम भारत जानेछ ।