जनता टाइम्स

९ आश्विन २०७६, बिहीबार ०७:४२

ओसासुनालाई पराजित गर्दै रियल मड्रिड ला–लिगाको शीर्ष स्थानमा


काठमाडौं, असोज ९  ओसासुनालाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

घरेलु मैदान सान्टिआगो बर्नबेउ रंगशालामा बिहीबार बिहान भएको खेलमा रियलले ओसासुनालाई २–० ले हराउँदै लिगमा अपराजित यात्रालाई कायम राखेको हो। सुरुवाती ६ खेलमा रियल ४ मा विजयी तथा २ मा बराबरी खेल्दै शीर्ष स्थानमा उक्लिएको हो।

ओसासुनाले सुरुवातमै रियललाई दबाबमा राख्ने कोशिष गरे पनि सुरुवाती अग्रता भने रियलले नै लिएको थियो। रियलका लागि भिनिसियस जुनियरले ३६ मिनेटमा पहिलो गोल गरे। पछिल्लो सिजनमा उनले रियलका लागि २ गोल गरेका थिए।

पहिलो गोल गरेको ३६ नै मिनेटपछि रियलले अग्रतालाई दोब्बर बनायो। सिल्भा डे गोजले गोल गर्दै रियलको जित सुनिश्चित गरेको थिए।

यसैबीच ला–लिगाको अर्को खेलमा एट्लेटिको मड्रिडले मल्लोर्कालाई २–० ले पाखा लगायो। जितपछि रियलसँग एक अंकले पछि परेको एट्लेटिको तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

बाँकी दुवै खेलहरु भने बराबरीमा सकिएका थिए। भ्यालेन्सियाले गेटाफेसँग ३–३ को बराबरी खेल्दा लेगानिजले एथ्लेटिको बिलबाओलाई १–१ को बराबरीमा रोक्यो।