जनता टाइम्स

१३ चैत्र २०८०, मंगलवार १२:२९

प्रवासी नेपाली मञ्चको सचिवालय बैठकले गर्यो मनोनीतदेखि जिम्मेवारी हरेफेरसम्मका निर्णय


काठमाडौं, चैत १३ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीमा दुई सदस्य मनोनीत भएका छन ।

अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा सोमवार बसेको अन्तराष्ट्रिय कमिटीको १६औं सचिवालय बैठकले संगठनको आवश्यकतालाई मध्यनजर गरी नेताहरु सालिकराम पन्त र टक गुरुङलाई अन्तराष्ट्रिय कमिटीको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको उपसचिव एवं प्रचार तथा प्रकाशन बिभाग प्रमुख चानक पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी बैठकले मध्यपूर्व महादेश कमिटीको संयोजकमा प्रकाश कोइरालालाई मनोनीत गरेको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सल्लाहकार परिषद सदस्य रहनुभएका कोइरालालाई बैठकले मध्यपूर्व महादेश कमिटीको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सचिवालय बैठकले मनोनीत नेता पन्तलाई जिम्मेवारी तोक्दै युवा तथा खेलकुद बिभागको प्रमुखको जिम्मेवारी दिएको छ । यसअघि सो बिभागको नेतृत्व सचिवालय सदस्य प्रभु थापाले गर्नुभएको थियो । अमेरिका महादेश कमिटीका इञ्चार्जसमेत रहनुभएका थापालाई मलेसियाको केन्द्रीय कमिटी बैठकअघि बसेको सचिवालय बैठकले अर्काे ब्यवस्था नभएसम्मका लागि युवा तथा खेलकुद बिभाग प्रमुखको समेत जिम्मेवारी दिएको थियो । सो बिभागको प्रमुखमा पन्तलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको हो ।

यस्तै बैठकले अन्तराष्ट्रिय कमिटी सदस्य ज्योती शर्मालाई महिला सशक्तिकरण बिभाग प्रमुखमा बढुवा गरेको छ । शर्मा यसअघि सोही बिभागको उपप्रमुख हुनुहुन्थ्यो । उपप्रमुख शर्माको अहिलेसम्मको कामको मूल्यांकन गर्दै बिभागको प्रमुखमा बढुवा गर्ने निर्णय बैठकले गरेको उपसचिव पोखरेलले जानकारी दिनुभयो । यसैगरी बैठकले नेपालमा तत्काल कार्यालय ब्यवस्थापन गर्ने निर्णयसहित सचिवालय सदस्य बिमला भण्डारीलाई जिम्मेवारी तोकेको छ । भण्डारीलाई बिभाग परिवर्तन गरी कार्यालय ब्यवस्थापन बिभागको प्रमुख तोकेको उपसचिव पोखरेलले जानकारी दिनुभयो ।

सचिवालय बैठकले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई तत्काल राहत बितरण गर्ने निर्णयसमेत गरेको छ । हालसम्म संकलन भएका रकमबाट जाजरकोट र रुकुमका लागि तत्काल राहत दिने निर्णय गरिएको हो । प्रवासी नेपाली मञ्चले दुई जिल्लाका भूकम्पपीडितलाई तत्कालै राहत दिने कामसमेत गरेको थियो ।

सचिवालय बैठकले मलेसियामा बैठकको अन्तरािष्ट्रय कमिटीको भौतिक बैठकको समिक्षा गर्दै निकै सकारात्मक सन्देश प्रवाह भएको निश्कर्ष निकालेको छ । गत फ्ब्रुअरी १० र ११ गते मलेसियाको राजधानी क्वालालम्पुरमा केन्द्रीय कमिटी बैठक सम्पन्न भएको थियो । सो बैठकपछि सचिवालयको पहिलो बैठक बसेको हो । बैठकले मलेसिया बैठकले बिश्वभर छरिएका मजदुरहरुमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको निश्कर्ष निकालेको छ ।

यस्तै बैठकमा मलेसिया बैठकको निर्णयअनुसार प्रवासी नेपाली मञ्च श्रमिक अक्षयकोष स्थापनाका लागि संयोजक कमलमणि गुरागाईले प्रस्तुत गर्नुभएको कार्ययोजनामा ब्यापक छलफल गरेको छ । छलफलपछि सो कार्ययोजनामा थप सुझाव संकलन गरी अर्काे बैठकबाट स्पष्ट कार्ययोजनासहित कामलाई तीब्रता दिने निर्णय गरेको छ । सचिवालय बैठकले स्पेनको बार्सिलोनामा सम्पन्न युरोप महादेश कमिटीको प्रथम भौतिक बैठक र प्रशिक्षण कार्यक्रम निकै फलदायी भएको निश्कर्ष पनि निकालेको छ ।

युरोप बैठकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा इञ्चार्ज डा. राजन भट्टराई प्रमुख अतिथी र अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा बिशेष अतिथी हुनुहुन्थ्यो । सचिवालय बैठकले संगठन निर्माणको अभियानको कामलाई अध्यक्ष थापाले निर्वाह गर्नुभएको भूमिकाको उच्च प्रसंशा गर्दै धन्यवाद दिएको छ । मलेसिया बैठकको निर्णय कार्यान्वयनसहित संगठन सुद्धिकरण सुदृढीकरण अभियान लिएर अध्यक्ष थापा पूर्वीएशिया, मध्यपूर्व र युरोपको भ्रमणमा निस्कनुभएको थियो ।

आक्रामक रुपमा संगठन बिस्तार अभियानमा लागेको प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको १६औं सचिवालय बैठक केन्द्रीय कमिटी, महादेश कमिटीमा मनोनीतदेखि नेताहरुको जिम्मेवारी हरेफेर र राष्ट्रिय कमिटीका अधिवेशनसम्मका  बिषयमा स्पष्ट निर्णय लिँदै सम्पन्न भएको छ ।

अध्यक्ष थापाको भ्रमणको क्रमममा भेला, बैठकको आयोजना गरी सम्बन्धित राष्ट्रिय कमिटीमा रहेका अन्तरबिरोधको हल गर्नुका साथै कमिटी गठन पुनर्गठनको कामसमेत भएका छन । मलेसिया बैठकदेखि तीन महादेशको भ्रमण पूरा गरी अध्यक्ष थापा ४२ दिनपछि आफ्नो कर्मभूमि अमेरिकाको न्यूयोर्क फर्कनुभएपछि सचिवालय बैठक बसेको हो ।

बैठकले ६ महनाभित्र सवै राष्ट्रिय कमिटीको अधिवेशन अनिवार्य रुपमा सम्पन्न गर्ने निर्णयलाई कडाईंका साथ कार्यान्वयनमा लैजाने निर्णयसहित सदस्यता नविकरण र बिस्तारको काम तत्काल गर्न निर्देशन दिएको छ । मलेसिया बैठकले ६ महिनाभित्र सवै राष्ट्रिय कमिटीको अधिवेशन गर्ने निर्णय गरेको थियो ।

सचिवालय बैठकले मलेसिया बैठकदेखि सवै भेला, बैठक र प्रशिक्षणमा सहयोग पुर्याउने सवैलाई धन्यवादसमेत दिएको छ । बैठकमा सचिव एवं संगठन बिभाग प्रमुख हेम शेर्पाले सांगठानिक अवस्थाको बिषयमा जानकरी गराउनु भएको उपसचिव पोखरेलले बताउनु भयो । सचिवालय बैठकमा प्रमुख अतिथी रहनुभएका प्रवासी नेपाली मञ्चका इञ्चार्ज डा. राजन भट्टराई भने बिशेष कामका कारण उपस्थित हुन नसकेको उपसचिव पोखरेलले जानकारी दिनुभयो ।