janatatimes

१४ चैत्र २०८०, बुधबार ०७:४९

नेपाली महिला टोलीले तेस्रो पटक एसिया कप खेल्ने


काठमाडौं, १४ चैत्र ।  नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सामाजिक सञ्जालमा एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर नेपाललाई पनि समेटेको जानकारी दिएको छ ।गएको फेब्रुअरीमा भएको एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको थियो । यो हारसँगै नेपाल श्रीलङ्कामा हुने एसिया कपमा छनोट हुन सकेको थिएन । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली यूएई र मलेसिया सिधै एसिया कपमा पुगेका थिए ।

तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएसँगै नेपाल र थाइल्याण्डले मौका पाएका हुन् ।अब नेपाली महिला टोलीले तेस्रो पटक एसिया कप खेल्नेछ । यसअघि सन् २०१२ र २०१६ मा नेपाली महिला टोलीले एसिया कप खेलेको थियो । एसिया कपको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र यूएई छन् । नेपालले आउँदो जुलाई १९ मा पाकिस्तान, जुलाई २१ मा यूएई र जुलाई २३ मा भारतसँग खेल्नेछ । त्यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन् ।