जनता टाइम्स

९ आश्विन २०७६, बिहीबार ११:४८

जलवायु परिवर्तनको असरबारे नेपालले गरायो बिश्व समुदायको गम्भीर ध्यानाकर्षण, संकट समाधानका लागि गम्भीर बन्न अपिल


न्यूयोर्क, असोज ९ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण विश्वव्यापी चुनौतीका रुपमा सिर्जित संकट समाधानका लागि गम्भीर बन्न विश्व नेताहरुलाई अपिल गर्नुभएको छ । जलवायु परिवर्तनका कारण सिर्जित समस्या समाधानका लागि समयमै उचित कदम नचालिए पृथ्वी र मानव अस्तित्व नै संकटमा पर्ने खतरा बढेकोतर्फ उनले विश्व समुदायको ध्यानाकर्षण गराउनु भयो ।

संयुक्त राष्ट्रसंघको आयोजनामा अमेरिकाको न्यूयोर्कमा जारी जलवायु कार्यशिखर सम्मेलनको ‘अ कल फर एक्सनः रेजिङ एम्बिसन फर क्लाइमेट एडप्टेसन एन्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ मा सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो अपिल गर्नुभयो । समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा उनको जोड थियो । जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुक बढी प्रभावित भएको चर्चा गर्दै उनले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्नुपर्ने उहाँको भनाई थियो ।

‘जलवायु परिवर्तनले आज सांसारभर अकल्पनीय अवस्थाको सिर्जना हुन लागिसकेको छ’, मन्त्री बस्नेतले भन्नुभयो, ‘यसले पृथ्वीको स्थिरता र मानवजातिकै भविष्यमाथि नै खतरा निम्त्याउन सक्छ ।’ उहाँले जलवायु परिवर्तनको असरबाट साना र गरिब मुलुकहरु बढी प्रभावित रहेको तथ्यमाथि विचार गर्न आग्रह पनि गर्नुभयो । ‘जलवायु परिवर्तनको नकारात्मक प्रभावले आज विश्व नै भयाबह संकटमा छ । त्यसमा पनि गरिब र साना मुलुकहरु बढी प्रभावित छन्,’ मन्त्री बस्नेतले भन्नुभयो, ‘त्यसका लागि अहिले हामीले गर्दै आएका प्रयास मात्र पर्याप्त हुँदैन । म यो अवसरमा विश्व नेताहरुलाई साझा प्रयासका लागि एकताबद्ध हुन अपिल गर्दछु ।’

उहाँले जलवायु परिवर्तनमा कम भूमिका भएर पनि त्यसबाट अतिप्रभावित नेपालजस्ता मुलुकको अनुकूलन क्षमता बढाउन आवश्यक श्रोतको व्यवस्था गर्न पनि सम्मेलनमा प्रस्ताव गर्नुभयो । राष्ट्रसंघका सदस्य मुलुकबीच आर्थिक तथा प्राविधिक सहयोगका साथै ज्ञान आनाद/प्रदान गर्नुपर्ने उहाँको भनाइ थियो । एसियाली विकास बैंकको आयोजनामा भएको अर्को कार्यक्रममा मन्त्री बस्नेतले नेपालले जलवायु अनुकूलन क्षमताको विकास र अनुसन्धानको कामलाई महत्वका साथ अघि बढाएको बताउनु भयो । त्यसका लागि सरकारले विश्व समुदायका साथै नागरिक समाज, निजी क्षेत्र र राष्ट्रिय/अन्तर्राष्ट्रिय साझेदारहरुसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको उल्लेख गर्नुभयो ।

उहाँले पारिस्थितिक प्रणालीमा सुधार ल्याउन स्थानीय समुदायमा आधारित कृषि वन, सिञ्चाई र साना पूर्वाधारजस्ता कार्यक्रममार्फत समुदायको जीवनस्तर उकास्ने प्रकृतिका कार्यक्रमलाई जोड दिइएको जानकारी दिनुभयो ।