जनता टाइम्स

९ आश्विन २०७६, बिहीबार १३:०४

तिलोत्तमा लगानी सम्मेलन सुरु, यस्तो छ आधा दर्जन बढी परियोजनामा लगानी सम्झौताको खाका


रुपन्देही, असोज ९ । तिलोत्तमा नगरपालिकामा ‘तिलोत्तमा लगानी सम्मेलन’ शुरु भएको छ । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन आजबाट सुरु भएको हो । नगरपालिकाले सम्मेलनका अवसरमा आजसार्वजनिक विदा दिएको छ ।

नगरप्रमुख बासुदेव घिमिरेले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार सम्मेलनमा कृषि, पर्यटन, उद्योग, यातायात क्षेत्रमा लगानी भित्राउने गरी आधा दर्जन बढी परियोजनामा सम्झौता हुनेछ । शिक्षा, स्वास्थ्य, पर्यटन, सडक–पूर्वाधार, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवद्धनजस्ता आम नागरिकका अपेक्षालाई नगरपालिकालेसम्मेलनमार्फत लगानी भित्र्याउन लागेको हो । लगानी सम्मेलनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. युवराज खतिवडासहित बिभिन्न प्रदेशका मुख्यमन्त्री, संघीय सांसद, बिभिन्न दलका नेता, सघींय सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्त कर्मचारी, गैरआवासीय नेपाली, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि सहभागी हुनुहुन्छ ।

सम्मेलनमा झण्डै दुई सय पचास सम्म स्वदेशी तथा बिदेशी उद्योगी व्यवसायीसहित ५ सय जनाको सहभागिता रहेको छ । नगरपालिकाका पर्यटकीय स्थल जोड्ने गरी रेल सञ्चालन, दुग्ध प्रशोधन केन्द्र, फोहरमैला प्रशोधन केन्द्र, कृषि उपज संकलन केन्द्र, प्रादेशिक बसपार्क, दक्ष जनशक्ति तयार पार्न प्रशिक्षण केन्द्र, क्यान्सर अस्पताल, एकीकृत पर्यटकीय योजना लगायतका आधा दर्जन परियोजनामा लगानी सम्झौता गर्ने तयारी छ । नगरपालिकाले तयार पारेको परियोजनाका लागि लगानीकर्तालाई सार्वजनिक जमिन लिजमा उपलब्ध गराउन संघीय सरकारलाई सिफारिस गर्ने र व्यक्तिगत जमिन खरिद गर्न चाहेमा सहजीकरणको भूमिका निभाउँने छ ।

लगानीका लागि कोल्ड स्टोरसहितको एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र एकीकृत फोहर मैला व्यवस्थापन केन्द्र, ढाक्रेवास एकीकृत पर्यटकीय स्थल, मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, अटोभिलेज, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र रिङरोडमा रेल, एकीकृत दूध संकलन तथा प्रशोधन केन्द्र, स्मार्ट हाटबजार, स्मार्ट पार्किङ स्थल, क्यान्सर अस्पताल, महिला तथा बाल अस्पताल, सौर्य ऊर्जा लगायतका २२ वटा परियोजना तयार पारिएको छ ।