सिन्धुली, चैत १७ । प्रतिनिधीसभामा पटक पटक बिवादस्पद अभिव्यक्ति दिएर बदमानी कमाएका सिन्धुलीका सांसद लेखनाथ दाहाल (राजन) ले फेरि त्यस्तै अर्को बिपादास्पद काम गरेर चर्चा कमाउने अभियान थालेका छन ।
माओवादीबाट निर्वाचित सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका कार्यालयभित्रै झुक्याएर एमाले समर्थक यातायात मजदुरलाई अबिर र खादा लगाएर पार्टी प्रवेश गराइ सांसदले गर्नै नहुने हर्कत गर्नुभएको हो । गाउँपालिका कार्यालयको अध्यक्ष बज्रध्वज वाइबाको कार्यकक्षमा कार्यक्रमको आयोजना गरी सांसद दाहालले एमाले समर्थक वडा नं. २ का नन्दराम राईलाई माओवादी केन्द्रमा प्रवेश गराउनु भएको हो।
अध्यक्ष वाइवाको कार्यालयमै कार्यकर्तालाई पार्टीमा प्रवेश गराएको विषयलाई लिएर सिन्धुलीमा चौतर्फी आलोचना शुरु भएको छ । सरकारी कार्यालयलाई पटक पटक व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दै आएका माओवादी केन्द्रबाट निर्वाचित सांसद लेखनाथ दाहाल (राजन) र पालिका अध्यक्ष वाइबाले पदको दुरुपयोग गर्दै सार्वजनिक कार्यालयलाई पार्टी कार्यालयमा रुपान्तरण गरेको भन्दै नेपाल पत्रकार महासंघ सिन्धुलीका सभापति कृष्णहरी घिमिरेले सामाजिक सञ्जालमा कडा टिप्पणी गर्नुभएको छ ।
‘मेरा माननीय र पालिका अध्यक्षको मति । तिमी हिजो कुनै दलका थियौ । निर्बाचित भयौ, तिम्रो पद र कार्यालय सार्बजनिक हो । एउटा ड्राइभरलाई रोजीरोटीबाट बिमुख गर्ने धम्की दिएर पार्टी प्रबेश, त्यो पनि पालिका कार्यकक्षमा । हुनत लुर मरेका कांग्रेस र पानी मरेका एमाले नेता कार्यकर्ता भएकाले जे गर्दा पनि गज्जबै हुन्छ । यो स्थानीय तहको सरकार हो कि माओवादी केन्द्रको कार्यालय ?’ घिमिरेले लेख्नुभएको छ ।

घिमिरेको यो पोष्ट सामाजिक सञ्जालमा अहिले शेयर भइरहेको छ । अध्यक्ष वाइबा केही समय अगाडिदेखि बहुविवाहमा पनि विवादमा तानिएका व्यक्ति हुन । उहाँबिरुद्ध माओवादी केन्द्रको बागमती प्रदेश कार्यालयमा कारबाहीको माग गर्दै उजुरी दर्ता भएको छ । त्यसैगरी पिडितले गाउँपालिकाको न्यायिक समितिमा दिएको निवेदनलाई पालिकाको सो समितिले फौजदारी प्रकृतिको अभियोग बताउँदै थप अनुसन्धान गरेर कारबाही अगाडि बढाउन भन्दै पालिका उपाध्यक्ष जोखवहादुर थिङले सिन्धुली प्रहरीलाई सक्कल निवेदनसहित पत्र पठाउनु भएको छ ।
माओवादी केन्द्रभित्र पालिका अध्यक्षलाई कारबाही गर्न चर्को दबाब परिरहेका बेला संघीय सांसद दाहालले उहाँलाई संरक्षण गरिरहेको आरोप लाग्न थालेको छ । पछिल्लो केही दिनदेखि माननीय दाहाल र आरोपी वाइबाको संयुक्त तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट भइरहेका छन ।













प्रतिक्रिया दिनुहोस्