काठमाडौं, चैत २१ । काठमाडौं महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल संलग्न सहकारीमा छापा मारेको छ ।
लामिछाने पत्नी निकिता निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा महानगरले छापा मारेको हो । लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा ‘रेकी’ गरिरहेको सो सहकारीमा बुधबार महानगरपालिकाको सहकारी विभागका कर्मचारी, महानगर प्रहरीसहितको टोलीले छापा मारेको थियो ।
महानगरको अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णयसहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण र बचतकर्ताको विवरण ल्याएको छ ।
यस्तै धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले आफूसँगै ल्याएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले आफ्नो नियन्त्रणमा लिएको छ । महानगरपालिका अनुसार धेरै उजुरी आएका ४० सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी अग्रपंक्तिमा रहेको छ ।
महानगरको सहकारी विभागमा उपाध्यक्ष पौडेल आफै जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो । विभागका अनुसार बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता गराइदिन समेत महानगरलाई उजुरी दिएका छन ।
सञ्चालक समितिका तत्कालीन उपाध्यक्ष पौडेल र अर्का एकले ७० लाख रुपैयाँ सहकारीबाट निकालेको बचतकर्ताको आरोप थियो । तर, उक्त रकम सहकारीलाई फिर्ता गरिसकेको अनुगमन समितिलाई सहकारी व्यवस्थापकले जानकारी दिएका छन ।
सहकारीले नयाँ सञ्चालक समिति चयन गरेको भएपनि संस्थाको पूर्वअध्यक्ष भरतजंगम र उपाध्यक्षमा गृहमन्त्रीपत्नी निकिता पौडेल हुनुहुन्छ । सोही सहकारी दुई वटा समूह छ । भरत जंगमभन्दा बाहेकको समूहले अर्को सहकारीलाई संस्थासँग मर्जर गरेको देखिएको महानगरले जनाएको छ ।
सोही समूहले पूर्वअध्यक्ष भरत जंगमको हस्ताक्षर किर्ते गरेर अन्तर सहकारी सापटी लिएको तर त्यो रकम सहकारीमा दाखिला नभई बाहिर नै कारोबार भएको जस्ता प्रमाण फेला परेको छ ।चार्टर्ड एकाउन्टेन्ट सहितको टोलीले ८० वटा सूचकमा आधारित रहेर महानगरभित्र रहेको साई स्वागत बचत तथा ऋण सहकारी ४० वटा सहकारीको अनुगमन गरेको महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्