जनता टाइम्स

१० आश्विन २०७६, शुक्रबार ०८:२०

टि–ट्वान्टी क्रिकेटमा जिम्बावेसँग भिड्दै नेपाल


काठमाडौं, असोज १०

त्रिकोणीय टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आज बलियो जिम्बावेसँग भिड्दैछ । इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले खेल्न लागेको हो । टेष्ट राष्ट्र जिम्बाब्वेलाई पराजित गर्ने लक्ष्यमा नेपाली टिम रहेको छ ।

टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र जिम्बावेबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । एकदिवसीय खेलमा भने नेपाल र जिम्बावेबीच १८ महिनाअघि प्रतिस्पर्धा भएको थियो । जिम्बावेको बुलावायोमा २०१८ को मार्च ४ मा एकदिवसीय विश्वकप छनोट अन्तर्गत भएको खेलमा जिम्बावेले नेपाललाई ११६ रनले पराजित गरेको थियो ।

पहिले ब्याटिङ गरेको उसले ३८० रन जोडेको थियो । नेपालले ८ विकेटको क्षतिमा २६४ रन जोडेको थियो । तर, त्यस बेलाको टोली र अहिलेको टोलीका सदस्य केही फरक छन् । यो पटक नेपालले युवा खेलाडीलाई पहिलो रोजाइमा राखेको छ । नेपाल सिंगापुरमा प्रतिस्पर्धा गरेपछि उतैबाट ओमान जानेछ । ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् । दुवै सिरिजमा गरी नेपालले ८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ।