जनता टाइम्स

२३ चैत्र २०८०, शुक्रबार १५:२६

बलात्कार अभियोगमा गायक ओडबिरुद्ध पक्राउ पुर्जी जारी


कञ्चनपुर, चैत २३। नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । श्रीमतीको उजुरीपछि गायक ओडबिरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ओडकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चैत २० गते ओडकी श्रीमतीले प्रहरीमा किटानी उजुरी दिएकी थिइन् । सोही दिन अदालतले पनि पक्राउ पुर्जीको अनुमति दिएको हो ।

पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको र उनी हुनसक्ने ठाउँमा पत्राचार समेत गरिएको जनाए । ‘हामीले उहाँ हुनसक्ने ठाउँमा पत्राचार समेत गरेर खोजी तीव्र पारेका छौं,’ एसपी जोशीले भन्नुभयो ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले जाहेरी दिएकी हुन् । ओडले २०७५ पुस ६ गते नेपाल आइडलको दोस्रो सिजनको उपाधि जितेका थिए । ओडको स्थायी ठेगाना गुलरियाको कृष्णपुर नगरपालिका हो । उनको इन्स्टाग्राम स्टोरी हेर्दा उनी यतिबेला सांगीतिक कार्यक्रमको लागि जापानमा रहेको देखिएको छ ।