जनता टाइम्स

२५ चैत्र २०८०, आईतवार ११:५८

विदेशमा बस्ने नेपाली व्यापारीले ‘एनआरएन बिजेनेश एशोसियसन’ खोल्ने


काठमाडौं, २५ चैत । विदेशमा व्यापार तथा व्यवसाय गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेका छन् । गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो । अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताउनुभयो ।

जोशी गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा महासचिवमासमेत विजयी हुनुभएको थियो । सर्वोच्च अदालतको केहिदिन अघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेको थियो । सर्वोच्चले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ । नयाँ संस्था सञ्चालनको तयारीमा जुटे्नुभएको जोशीले एनआरएनएभित्र चरम राजनीति हावी भएको बताउँदै अब यो संस्थाको औचित्य नहरेकोसमेत दावी गर्नुभयो ।

‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद गर्नुमात्र हो । आफू–आफूबीच इगो पालेर केही हुँदैन । एनआरएनएको औचित्य शून्य भइसक्यो । यहाँ झगडा गर्दै बस्नुको कुनै अर्थ छैन,’ उहाँले भन्नुभयो । पूर्व अध्यक्षहरूको जुँगाको लडाईँले एनआरएनए अभियान सखाप भएको उहाँको आरोप छ । ‘मिल्ने बेला नमिल्ने । आफू–आफूहरूबीच इगो लिने ! अहिले कसरी मिल्छ त ? मिलेर ६ महिनाभित्र संस्था एक हुन्छ भन्नु असम्भव छ । कोही पनि भ्रममा नपरे हुन्छ,’ उहाँले थप्नुभयो ।

जोशीले पछिल्लो समयमा विदेशमा नेपाली व्यवसायीहरूको संख्या बढ्दै गएको बताउँदै उनीहरूलाई समेट्न एउटा संस्था आवस्यक रहेको बताउनुभयो । ‘यो संस्था राजनीति गर्ने थलो हुँदैन। व्यापार–व्यवसायलाई मात्र केन्द्रित गरेर सञ्चालन हुन्छ । युवा पुस्ता र विदेशमा हुर्किरहेको पुस्तालाई समेट्ने तार्गेट हो,’ उहाँले भन्नुभयो ।