जनता टाइम्स

१० आश्विन २०७६, शुक्रबार १४:०८

अर्थमन्त्री खतिवडाले सुनाए ललितपुरलाई आधुनिक जिल्ला बनाउने सरकारी योजना


ललितपुर, असोज १० । सरकारले ललितपुरको पुल्चोकमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने गृहकार्य अघि बढाएको छ । मन्त्री खतिवडाले अर्थमन्त्री डा. युवराज खतिवडाले पुलचोकस्थित साझा यातायातको कार्यालय भवन वरपर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने गृहकार्य अघि बढाइएको जानकारी दिनुभएको हो ।

ललितपुरको पाटनमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभालाई आज उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले साझा यातायातको कार्यालय भवन वरपरको जग्गाको खोजी कार्यलाई अघि बढाइएको जानकारी दिनुभयो । उहाँले ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सोचाइ पनि सरकारले बनाएको जानकारी दिनुभयो ।

अर्थमन्त्री खतिवडाले समग्रतामा ललितपुर जिल्लालाई आधुनिक सहरको रुपमा विकास गर्न चाहेको सरकारको योजनासमेत राख्नुभयो । अर्थमन्त्री खतिवडाले ललितपुर कला र संस्कृतिको हिसावले पनि अधिक सम्भावना भएको जिल्ला भएको हुनाले त्यसको विकासमा सरकार प्रतिवद्ध भएर लागि परेको बताउनु भयो ।